१ करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

१ करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने



राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले भने, ‘भिभिआइपी उडान भएकाले त्यसको प्रक्रियाअनुसार हामीले तयारी गरिरहेका छौँ ।’ परराष्ट्र मन्त्रालयको समन्वयमा जहाज पठाउन लागेको निगमले जनाएको छ । भिभिआइपी उडानमा वरिष्ठ क्याप्टेनसहितको पाइलटको टोली र क्याबिन क्रुको टोली पठाउने तयारी निगमले गरेको छ ।

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौँबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ । त्यस्तै, उनलाई लिन फेरि जहाज जानेछ । तिन दिने चार्टर्ड उडानको लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । यो रकम सरकारले निगमलाई दिने पनि ती अधिकारीले बताए ।

निगमले राष्ट्रपतिको भ्रमणका आफना जहाज प्रयोग हुने भएपछि आवश्यक पर्ने सवै तयारी थालि सकेको जनाएको छ । साथै भ्रमणका क्रममा प्रयोग हुने विमानस्थलसँग समन्वय थालिसकेको निगमको भनाई छ । राष्ट्रप्रमुखको औपचारिक विदेश भ्रमणमा निगमको जहाज पठाउन पाएकोमा खुशी लागेको निगमका सहप्रवक्ता कोईरालाले बताए । राष्ट्रपति भण्डारीको यस भ्रमणमा निगमको जहाज प्रयोग हुँदा राष्ट्रिय ध्वजाबाहकको व्यवसायीक प्रवद्र्धनमा मद्धत पुग्ने उनको भनाइ छ । राष्ट्रपतिको भ्रमणमा एउटा जहाज प्रयोग हुने भएपछि यस जहाजले गर्ने नियमित रुटको उडानमा निगमकै वाईड बडी थ्रीथर्टी जहाजबाट उडान नियमित गर्ने निगमले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीका दुवै कार्यकालका चीन भ्रमणमा निगमको जहाज प्रयोग भएका थिएनन । त्यसबेला चिनियाँको समेत लगानी भएको निजी क्षेत्रको हिमालयन एयरलायन्सको जहाज प्रयोग गरिएको थियो । विश्वका प्राय सवै देशका राष्ट्र प्रमुखले आफनो औपचारिक विदेश भ्रमणमा देशको राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग गर्छन् । अमेरिका, बेलायत, फ्रान्सजस्ता शक्तिशाली देशका राष्ट्र प्रमुखले भने आफना लागि छुट्याईएको विशेष विमानको प्रयोग गर्छन भने कतिपय अवस्थामा सेनाको विमान पनि प्रयोग गर्छन् ।

यो सामाचार दिवारक पन्थीले  आजको नयाँ पत्रिकामा लेखेका छन् ।