एक बर्षको अवधिमा कञ्चनपुरमा घटे मानवअधिकार उल्लंघनका ७५ घटना - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

एक बर्षको अवधिमा कञ्चनपुरमा घटे मानवअधिकार उल्लंघनका ७५ घटना



कञ्चनपुर ।। इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् ।

इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताउनुभयो ।

उहाँका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ । उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो हुनु जरुरी छ ।”

मानवअधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेवार बने मात्रै समाजमा शान्ति कायम हुनसक्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले वास्तविक घटना बाहिर नआउने प्रवृत्तिका कारण पीडितले न्याय पाउनबाट वञ्चित रहनुपरेको बताउनुभयो । –रासस