१ अर्ब मानिसमा संक्रमण र ३० लाखको ज्यान जानसक्ने पछिल्लो प्रक्षेपण - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

१ अर्ब मानिसमा संक्रमण र ३० लाखको ज्यान जानसक्ने पछिल्लो प्रक्षेपण



बीबीसी- इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) नामक एक संस्थाले विश्वका करिब १ अर्ब मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएको छ।

कमजोर देशलाई तत्काल आवश्यक सहायता नपुगेको खण्डमा यस्तो स्थिति आउन सक्ने आईआरसीले बताएको हो।

विश्व स्वास्थ्य संगठन तथा इम्पेरियल कलेज लण्डनको तथ्यांकलाई आधार बनाएर तयार गरिएको उक्त संस्थाको प्रतिवेदनअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ५० करोडदेखि १ अर्बसम्म हुनसक्छ। यो भाइरसबाट करिब ३० लाखको ज्यान जानसक्ने आशंका पनि रिपोर्टमा गरिएको छ।

कोरोनाको विश्वव्यापी असर रोक्न आर्थिक तथा मानवीय सहायताका लागि उक्त संस्थाले जोड दिएको छ। अफगानिस्तान, सिरियाजस्ता युद्धबाट ध्वस्त भएका मुलुकका लागि तत्काल मानवीय सहायता जरुरी भएको आईआरसीको भनाइ छ।

मंगलबारसम्ममा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख नजिक पुगेको छ भने मृतकको संख्या २ लाख १२ हजार नाघेको छ।