नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेन्डा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेन्डा



काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक बिहीबार विहान ११ बजेका लागि बोलाइएको छ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको नेता गोकर्ण विष्टले जानकारी दिए।

अध्यक्ष केपी ओली पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएपछि त्यसबारे निर्णय लिन बैठक बोलाइएको नेताहरुले बताएका छन्।

बुधबार नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा रुपान्तरित गरेपछिको अवस्थाबारे बैठकमा छलफल हुने र त्यसबारे आफ्नो पक्षको धारणा सार्वजनिक गर्ने तयारी नेपाल पक्षको छ।

बुधबारको निर्णय नेपाल पक्षले भन्दै आएको अवस्थामा पार्टीलाई फर्काउने निर्णयको रुपमा ओली पक्षले अर्थ्याएको छ तर नेपाल पक्षका कतिपय नेताहरुले भने बुधबारको निर्णयले पार्टीलाई जेठ २ मा नफर्काएको बताएका छन्।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्ने र पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने भनेर चर्चा गरिएको भएपनि बुधबारको बैठकले त्यस्तो निर्णय भने गरेन। माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउन माग गर्दै आएको छ।

महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमै रुपान्तरित भएपछि माधव कुमार नेपालसहितका नेताहरुमाथि गरिएको कारबाही निष्प्रभावी भएको बताइएको छ।