एमाले स्थायी कमिटी बैठक बल्ल सुरु: वार्तापछि एजेण्डा नै फेरियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एमाले स्थायी कमिटी बैठक बल्ल सुरु: वार्तापछि एजेण्डा नै फेरियो



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । निर्धारित समयभन्दा निकै ढिलो सुरू भएको बैठकको एजेण्डा नै परिवर्तन गरिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा १२ जना नेताहरूलाई कारबाही गर्ने एजेण्डा थियो । अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो ।

खनाल–नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरुबीचको सोमबार मध्यरातमा भएको छलफलपछि स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाहीको विषय केही दिनका लागि रोक्ने तयारी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताले याक एन्ड यती होटेलमा छलफल गरेका थिए ।

बालुवाटारमा ढिलो गरी सुरू भएको आजको बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

सरकारले यही जेठ १५ गते अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो । त्यस्तै, सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उमेदवार पराजित भएका थिए ।