आइन्सटाइनले भगवानबारे लेखेको पत्र १० लाख डलरमा बिक्री हुँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आइन्सटाइनले भगवानबारे लेखेको पत्र १० लाख डलरमा बिक्री हुँदै



एजेन्सी । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भगवानबारे लेखेको चिठी १० लाख डलरमा बिक्री गरिन लागेको सीएनएनले जनाएको छ । १९५४ मा धर्मका दार्शनिक एरिक गुत्किन्दलाई लेखेको सो चिठीमा आइन्सटाइनले भगवान र धर्म सम्बन्धि सामान्य सिद्धान्तको विनम्र तरिकामा विरोध गरेका छन् । यसलाई आइन्सटाइनको ‘गड लेटर’ अर्थात भगवानको पत्र भन्ने नाम दिइएको छ । सो पत्रमा उनले प्रस्तुत गरेको अभिव्यक्तिलाई धर्म र विज्ञानबीचको विवादमा सबैभन्दा महत्वपूर्ण स्पष्टिकरण मानिन्छ ।

मृत्यु हुनुभन्दा एकवर्ष अगाडि जर्मन भाषामा लेखिएको सो पत्रलाई क्रिस्टलले गुत्किन्दको १९५२ को किताब ‘चुज लाइफः द बाइब्लिकल कल टु रिभोल्ट’ को प्रतिक्रियामा अङ्ग्रेजीमा अनुवाद गरेको थियो । यसरी आइन्सटाइनले उनको र ती दार्शनिकको विचारधारमा धेरै समानता रहेको उल्लेख गरेपनि धर्म र पत्रमा मानव समुदायप्रति आफ्नो छुट्टै विचाराधारा स्पष्ट पारेको पाइन्छ ।

उनले लेखेका छन्, “ईश्वर शब्द मेरा लागि मानिसको कमजोरीले उत्पन्न गरेको एउटा अभिव्यक्ति बाहेक केही पनि होइन । त्यसैगरी प्रचीन कालदेखिको सम्मानजनक संग्रह बाइबलमा तिनलाई महान ठहर गरिएपनि मलाई त्यसमा विश्वास राख्नु मूर्खता लाग्छ ।”

आइन्सटाइन जर्मनमा जन्मिएका ज्यु सम्प्रदायका हुन् जसको सानो उमेरदेखि नै धर्मबाट विश्वास उठेको थियो र कतिपय अवस्थामा उनले आफूलाई पक्षपाती समेत भन्ने गरेका थिए । सो पत्रमा भने उनले ज्युइससँग जोडिएको पहिचानबारे आफ्नो विचार व्यक्त गरेका छन् जसमा उनले पूनर्जन्मलाई ठूलो अन्धविश्वासको नाम दिएका हुन् ।

यसअघि २०१२ मा इबेमा बिक्री भएको सो पत्र अब स्यानफ्रेनसिस्कोको पेस ग्यालरीमा प्रदर्शनका लागि राखिने र दुई महिनामै न्युयोर्कमा निलामीका लागि लगिने बताइएको छ । उक्त नीलाम घरले २००२ मा पनि आइन्सटाइनले तत्कालीन राष्ट्रपति फ्रान्कलिन रुजभेल्टलाई १९३९ मा टाइप गरेर पठाएको पत्र निलामीका लागि राखेको थियो जुन २० लाख डलरमा विक्री भएको हो । त्यसमा भने उनले रुजबेल्टलाई आणविक बम प्रविधिको खतराबारे सचेत गराएका थिए ।