एमसीसीको विषयमा अमेरिकी दूतावासले मुख खोल्यो
काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सहितको विषयमा नेपालस्थित अमेरिकी दूतावासले मुख खोलेको छ । दूतावासले तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको स्वतन्त्रताको दृढ समर्थक भएको जनाएको छ ।
सोमबार ट्विट गर्दै दूतावासले कसैले पनि शान्तिपूर्ण रुपमा आफ्नो धारणा राख्न पाउने प्रजातन्त्र मूलभूत तत्व भएको जनाएको छ । ‘हामी एमसीसीसहितको विषयमा तथ्यमा आधारित सार्वजनिक बहस र अभिव्यक्ति स्वतन्त्रताको दृढ समर्थक हौं,’ दूतावासले सोमबारको ट्विट गर्दै भनेको छ, ‘शान्तिपूर्ण रुपमा कसैले पनि धारणा राख्न पाउनु प्रजातन्त्रको मूलभूत तत्व हो ।’
नेपाल सरकारले एमसीसी लगायत देशहरुको विषयमा भइरहेको टिप्पणीहरुलाई रोक्ने गरी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना भइरहेको समयमा दूतावसले यस्तो धारणा सार्वजनिक गरेको हो । नेपालमा विद्युत तथा सडक परियोना सञ्चालन गर्ने विषयमा अमेरिक संस्था मिलेनिमय च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनको विषयमा संसद्मा विचाराधीन रहेको छ ।
५० करोड अमेरिकी डलर सहयोगको एमसीसी अनुमोदन गर्ने विषयमा जनमत विभाजित रहेको छ । प्रधानमन्त्री देउवा बुधबारबाट सुरु हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने पक्षमा छन् तर सत्ता गठबन्धनका अन्य दलहरु भने संशोधन बिना पारित गर्न नहुने धारणा राख्छन्।
सरकारमा हुँदा अनुमोदनको पक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेले भने सरकारलाई एमसीसीको विषयमा धारणा माग गरेको छ । दूतावासले गरेको ट्विटमा अमेरिका नेपाल र नेपाली जनतालाई दशकौंदेखि साझेदार रहेको र दीर्घकालीन समृद्धिका लागि सधैं सहयोग गर्दै आएको पनि उल्लेख छ ।