सी जिनपीङ् भन्छन: दुष्ट भाइरससँगको लडाई चीनले जित्छ - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

सी जिनपीङ् भन्छन: दुष्ट भाइरससँगको लडाई चीनले जित्छ



बीबीसी- चिनियाँ राष्ट्रपति सी जिनपीङ्ले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए।

‘सङ्क्रमण उच्च तहमा पुग्दै’

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा सङ्क्रमण उच्च तहमा पुग्ने बताएका छन्।

जसको अर्थ हुन्छ त्यसपछि सङ्क्रमण घट्दै जानेछ।

कोरोनाभाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८ सय सङ्क्रमण भएको आँकडा दिएका छन्।

ती सङ्ख्या मङ्गलवार बताइएको आँकडासँग मिल्छन्।

विदेशीको उद्धार

हुबेइको वुहान शहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ।

दुई सय यात्रुसहित जापानी विमान त्यहाँबाट उडेको छ भने बुधवार अबेर अमेरिकी चार्टर्ड विमान त्यहाँबाट बाहिर उड्दैछ।

युरोपेली आयोगले युरोपेली नागरिकहरूको उद्धारमा सहयोग गर्ने बताएको छ।

हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ।

जापान र जर्मनीमा चीन नगएका मानिसहरूमा पनि सङ्क्रमण देखिएको छ।

ती व्यक्तिमा चिनियाँ मानिससँग भेटघाटमार्फत् सङ्क्रमण सरेको बताइएको छ।

विवरण

हालसम्म चीनमा सङ्क्रमितहरूको सङ्ख्या ४५ सय पुगेको छ।

चीनमा कोरोनाभाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ।

सुरुमा मर्नेहरूमा ती पाका उमेरका बिरामी थिए जसमा स्वासप्रस्वाससम्बन्धी दीर्घ रोग थिए।

हालैका समयमा मारिनेहरूको भने विस्तृत विवरण आएका छैनन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मङ्गलवार चीनले सहमति जनाएको छ।

ती विज्ञले भाइरसबारे थप बुझ्न मद्दत गर्ने अनि अन्तर्राष्ट्रिय प्रतिक्रियालाई सघाउने छन्।