धेरै दुर्गन्ध फैलाएकाले प्रवक्तालाई कारबाही गरेको हुँ: ओली - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

धेरै दुर्गन्ध फैलाएकाले प्रवक्तालाई कारबाही गरेको हुँ: ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको बताएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै ओलीले पार्टीमा फर्किन पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षलाई आग्रह गरेका छन्।

‘पार्टीको मिटिङमा आउनुस्। अपराधहरु क्षमा गरिदिउँला। कार्यकारी मैले दिएको थिएँ। तर उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु। अध्यक्षको पद अहिले पनि कायमै राखेको छ’, उनले भने।

उनले वरिष्ठ नेताहरुको पद पनि कायमै राखेकाले फर्किने आग्रह गरे।

‘प्रवक्ता भनेर तोकिदिएको थियो। तर उहाँले साह्रै बढी दुर्गन्ध फैलाउने काम गर्नुभयो। त्यसकारण प्रवक्ताबाट हटाइएको छ। तर सचिवालय सदस्य कायमै राखिएको छ’, उनले भने।

उनले आफूले कसैलाई कारबाही नगरेको बताए। ‘हामीले कारबाही गरेका छैनौं। आफ्नै साथीले गरेको उपद्रव सहनुपर्छ’, उनले भने।

ओलीले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरे। ‘हाम्रो सूर्य चिह्न पाइँदैन भनेर साथीहरुमा चिन्ता छ। हामीले नपाए कसले पाउँछ त?’, उनले भने।

उनले आफूले भरसक पार्टी जोगाएर लैजान चाहेको बताए। ‘निर्वाचन आयोगमा केही मान्छे पुगेछन् र असली पार्टी हामी हौं भनेछन्। केही मान्छे केन्द्रीय कमिटीमा आएनन्। तर किन आएनन्। सम्पूर्ण सदस्य मध्ये १० देखि १५ प्रतिशत आएनन्। तर किन आएनन् भनेको त निर्वाचन आयोगमा गएर भनेछन्- हामी बहुमत हौं। उनीहरुलाई लाज छैन’, उनले बताए।

पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक
ओलीले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बसेको दाबी गरे।
उनले आफूले आइतबार बिहान मात्रै रेकर्ड हेर्दा सो तथ्यांक पाएको बताए।