दुर्गा प्रसाईंले भने- प्रचण्डलाई नारायणकाजीले घर न घाटको बनाउदैछन् - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

दुर्गा प्रसाईंले भने- प्रचण्डलाई नारायणकाजीले घर न घाटको बनाउदैछन्



काठमाडौं- व्यवसायी तथा बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले नारायणकाजी श्रेष्ठको पछि लागेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ गिग्रिएको बताएका छन् ।

प्रसाईंले नारायणकाजी कम्युनिस्ट आन्दोलन सकाउने अभियानमा लागेको बताउँदै उनी प्रचण्डको नजिक भएपछि प्रचण्डको समेत मतिभ्रष्ट भएको आरोप लगाए । काजी जस्ता व्यक्ति प्रचण्डको वरिपरी आएपछि जनयुद्धका कमाण्डरले पनि प्रचण्डको साथ् छाड्न बाध्य भएको उनको आरोप थियो ।

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताका कारण पार्टी फुटेको इंगित गर्दै प्रसाईंले ‘काजी’हरूको चंगुलबाट प्रचण्ड बाहिरिनुपर्ने तर्क गरे।

‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सा’पहरूको पछि लाग्नुहुन्छ भने ती काजीहरूले तपाईं (प्रचण्ड)लाई जनताको मन मस्तिष्कमा होइन, माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउनेछन् विचार गर्नुहोस्,’ प्रसाईंले भने।

प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको लिगेसीमा काजी सा’पहरूले राज्य सत्ताको दुरुपयोग गरेकाले नेपाली जनताहरूले नरूचाएका बताउँदै प्रसाईंले चेतावनीस्वरुप प्रचण्डलाई ‘विचार गर्न’ आग्रह गरेका छन्।

‘राजनीतिमा कुनै विचार नभएका काजी सा’पहरू तपाईंका नजिक हुँदा हामीजस्ता लाखौं शुभचिन्तकहरू तपाईंबाट आउट हुन बाध्य भयौं,’ उनले भने, ‘अहिले पाखा लागेका छौं। म फेरि पनि भन्छु। म जस्ता तपाईंका लाखौं शुभचिन्तकहरूको प्रतिनिधिमूलक आवाज पनि हो यो। तपाईंले कति विचार गर्नुभएको छ। मलाई थाहा छैन। परिस्थिति यस्तो भएको छ।’

नेकपा जुटाउने अभियानमा आफ्नो भूमिका स्मरण गर्दै प्रसाईंले भने, ‘प्रचण्डजी केपी ओलीसँग मिल्नुहोस् यसको विकल्प छैन।’

पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीलगायतका अतिथिलाई स्वागत गर्ने क्रममा प्रसाईंले भने, ‘तपाईं ओलीसँग मिल्नु भएन भने कम्युनिष्ट आन्दोलन सकिने छ।’

प्रसाईंले प्रधानमन्त्री ओलीलाई फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी कम्युनिष्ट नेता भएको बताउँदै उनीसँग नि:सर्त सहकार्य गर्न प्रचण्डलाई सुझाव दिए।

नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार ओलीकै कारणले बनेको उल्लेख गर्दै प्रसाईंले भने, ‘गणतन्त्रमा तपाईंले नै प्रमुख भूमिका खेलेको हो। त्यसैले, तपाईंहरू दुई मिल्नुको कुनै विकल्प छैन। तपाईंहरूको मिलन भयो भने नेपाली जनताको विकास र समृद्धिको उद्देश्यलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन।