कहिले खुल्छ दरबार हत्याकाण्डको रहस्य ?

काठमाडौं । इतिहासकै रहस्यमय दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । जति समय बित्दै छ त्यति धेरै रहस्यमय बन्दै गएको यो घटनाकोबारे दिनहुँ बहस हुन्छ, चर्चा हुन्छ, तर हत्या कसरी भयो, किन भयो यसको ठोस जवाफ छैन ।
तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जना परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।
त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
कैयौं प्रत्यक्षदर्शीले पनि खोल्न नचाहने वा नबताउने यो घटनाको रहस्य कहिले खुल्छ भन्ने अन्योल छ । जनता भने बिस्वस्त रहस्य कहिले खुल्छ भन्ने पर्खाईमै छन् ।

