दरबार हत्याकाण्डमा देखिएको नयाँ रहस्य... - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

दरबार हत्याकाण्डमा देखिएको नयाँ रहस्य…



काठमाडौं -दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ।

दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन्। किताब पब्लिसर्सले प्रकाशन गरेको सो पुस्तकका केही सन्दर्भ यस्ता छन्ः

त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी) ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ ।

बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो ।

तर, तत्कालै आपूmलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको मत्व थियो । मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो।

पारसले सोधे, ‘ह्वाट इज ह्यापेनिङ?’
सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ?’त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ । के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपथ्र्यो, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ ।

यता अरू घाइतेलाई तारन्तार ल्याइँदै थियो । आपत्को त्यो वेला दरबारमा एम्बुलेन्सहरूको व्यवस्था हुन सकेन, तर सुरक्षाकर्मीहरू तुरुन्त परिचालित थिए । घाइतेमध्ये कसैलाई भ्यान, कसैलाई मिनीबस, कसैलाई पिकअप, जे–जे भेटिन्छ, त्यसैमा हालेर अस्पताल ल्याउने काम गरियो ।

केहीबेरमा श्रुति सरकारलाई ल्याइयो । मौसुफलाई स्टिलको ट्रलीमा राखिएको थियो । अस्पताल ल्याइपुर्याउँदा मौसुफ जीवितै होइबक्सन्थ्यो । मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो, दुख्यो ’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुपर्यो ।’

उहाँले भन्नुभयो, ‘ठीकै छ, उहाँलाई केही भएको छैन, अलेलि दुख्यो होला ।’उहाँले यसो भन्नु पनि स्वाभाविकै थियो । किनभने सर्सती हेर्दा अधिराजकुमारीको जिउबाट कतै पनि रगत बगेजस्तो र घाउ लागेजस्तो देखिएको थिएन । यस्तोमा डाक्टरहरूको ध्यान राजा, रानी, युवराज र अरू घाइतेतिर जानु स्वतः बुझ्न सकिने कुरा हो ।

खासमा श्रुति सरकारलाई जाँघमा गोली लागेको रहेछ, जो बाहिरबाट हेर्दा देखिएको थिएन । आफ्ना पति गोरखशमशेर राणा गोली लागेर ढलेपछि श्रुति सरकारले छोप्न जाँदा अप्ठ्यारो ठाउँमा लागेको गोलीतिर समयमै कसैको ध्यान पुग्न सकेन ।

मलाई अहिले पनि सम्झिँदा साह्रै थकथक लाग्छ, डाक्टरहरूले त्यतिवेला प्राथमिकताका साथ हेर्न सकेको भए श्रुति सरकारको ज्यान जाने थिएन कि १ तर, सायद नियतिको खेल अर्कै थियो । श्रुति सरकार आफ्नो चोटभन्दा पनि बुबामुमा बितेको आघातले छटपटिएको र कराइबक्सेको होला भन्ठानेछन् डाक्टरहरूले । अन्ततः मौसुफको प्राणपखेरु उडिहाल्यो ।

यता कोमामा राखिएका युवराज दीपेन्द्र सरकारको स्वास्थ्य खस्किइरहेको थियो । जुनसुकै वेला निधन हुन सक्ने अवस्था थियो । त्यस्तो अवस्थामा मौसुफपछिका राजगद्दी उत्तराधिकारी एवं तत्कालीन ‘राज्य सहायक’ अधिराजकुमार ज्ञानेन्द्रलाई पूरापूर सुरक्षाका साथ राख्नु हाम्रो कर्तव्य हुन गएको थियो ।‘राजा बिते, राजा अमर रहून्’ भन्ने फ्रान्सेली उखान नै छ ।

वीरेन्द्र सरकार र त्यसपछि दीपेन्द्र सरकारको पालैपालो निधन भए पनि गद्दी खाली राख्न मिल्ने थिएन । त्यसैले तेस्रो राजाको राज्यारोहणका वेला आइहाल्छ भन्ने कुरा सबैले बुझेका थिए । त्यसै सन्दर्भमा ज्ञानेन्द्र सरकारबाट हुकुम भयो, ‘आवश्यक पर्यो भने जुनसुकै वेला मलाई फोन गर्नू, म तयारै हुन्छु ।’

कोमामा राखिएका दीपेन्द्र सरकारलाई मैले ढोकैबाट हेरेँ । घ्यारघ्यार सास चलिरहेको थियो, दाह्री बढेर कालो भएको थियो र वेलावेलामा तर्सेर झस्किए जसरी शरीर चलाएको देखिन्थ्यो ।रातदिनको तनाव र अनिद्राबाट थकित भएर म केहीबेर आराम गर्न राति नारायणहिटी दरबारकै क्वार्टरमा फर्किएको थिएँ, दीपेन्द्र सरकारको निधन भएको खबर छाउनी अस्पतालबाट आयो ।

जेठ २२ गते बिहान ३ः४५ बजे मौसुफको स्वर्गारोहण भएको डाक्टरहरूले घोषणा गरेका थिए । मैले तुरुन्त फोन गरेर ज्ञानेन्द्र सरकारलाई जानकारी दिएँ । ‘ठीक छ, म आएँ,’ मौसुफले भनिबक्स्यो । अस्पतालसम्म सवारी चलाउन म आफैँ निर्मलनिवास पुगेँ ।

गिरिजाको जोड सेना परिचालनमा
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फरक विचार थियो । प्रहरी परिचालन विफल भएपछि प्रधानमन्त्रीलाई लागेको थियो, अबको एक मात्र उपाय सेना परिचालन मात्र हो । यही विषयमा महाराजाधिराज र प्रधानमन्त्रीबीच मतभेद गहिरिँदै गएको थियो ।

माओवादी समस्याको सामना र समाधान कसरी गर्ने भन्नेबारे बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले महाराजाधिराजले ०५७ चैतमा नारायणहिटी राजदरबारभित्र मंगल सदनमा एउटा बृहत् बैठक आयोजना गरिबक्स्यो ।

त्यहाँ प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, रक्षामन्त्री महेश आचार्य, अर्थमन्त्री डा. रामशरण महतलगायत अन्य मन्त्री, सचिव, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित श्री ५ को सरकारका झन्डै डेढ दर्जन पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

राजदरबारका प्रमुख पदाधिकारीहरूसहित दीपेन्द्र सरकार पनि त्यहाँ उपस्थित होइबक्स्यो । त्यो बैठक साँझ ६ बजेबाट सुरु भएर राति झन्डै १० बजे मात्र सकिएको थियो ।

त्यहाँ प्रधानमन्त्री कोइरालाको एक मात्र जोड जसरी भए पनि सेना परिचालन गर्नुपर्यो भन्नेमा थियो ।

प्रजातन्त्र आएकोमा ज्ञानेन्द्रलाई चित्त बुझेको थिएन
पञ्चायती व्यवस्था ढलेपछि प्रधानमन्त्रीको काँधमा कार्यकारी अधिकार गएकोसमेत ज्ञानेन्द्र सरकारलगायत केहीलाई मन परेको थिएन । वीरेन्द्र सरकार भने यसबारे केही बोलिबक्सिन्नथ्यो । सत्ताको लुछाचुँडीमा नेताहरू सरकार बनाउने र गिराउने फोहोरी खेलमा लाग्दा जनतामा भ्रष्टाचार तथा महँगी बढ्यो भन्ने आभास भइरहँदा दरबारको लोकप्रियता तथा नेताहरूप्रतिको घृणा बढ्दै जान थालेको थियो ।

ज्ञानेन्द्र सरकारचाहिँ यही लोकप्रियतालाई उपयोग गरी दरबार सक्रिय हुनुपर्ने धारणा अघि सारिबक्सन्थ्यो । यही बिन्दुमा आएर दाजुभाइको कुरा मिलेको थिएन।

मदन भण्डारीसँगको दूरी पहिलो भेटबाटै घट्यो
आफूलाई आलोचना गर्ने भए पनि देशभक्त व्यक्तित्वहरूलाई वीरेन्द्र सरकारले इज्जत गरिबक्सन्थ्यो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग मौसुफको सम्बन्ध त्यसैगरी विकसित भएको थियो । ०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएका भण्डारी पहिले राजाको चर्को आलोचक हुनुहुन्थ्यो ।

तर, पछिल्लो कालखण्डमा त्यस्तो दूरी देखिएन ।महासचिव भण्डारीले ०४८ सालको आमनिर्वाचनअघि राजाविरुद्ध निकै आक्रामक अभिव्यक्तिहरू दिनुभयो । ०४७ चैतमा चाबहिलको एउटा आमसभामा गरेको चर्को भाषण पत्रपत्रिकामा छापियो, जहाँ उहाँले भन्नुभएको रहेछ– ‘महाराज  हात नलम्काई बक्स्योस्, आँखा नचम्काई बक्स्योस् र आफ्ना शण्ड–मुशण्डहरूलाई नचलाई बक्स्योस् । यदि शण्ड–मुशण्डलाई चलाउने नै हो भने महाराजले श्रीपेच उतारेर, सिंहासनमा राखेर, नेता भएर मैदानमा आउनुप(यो ता कि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’

वीरेन्द्र सरकारका विरुद्धमा यति चर्को सार्वजनिक अभिव्यक्ति त्यसअघि कहिल्यै सुनिएको थिएन । त्यसले दरबारभित्र ठूलै प्रतिक्रिया उत्पन्न गर्यो ।

ओलीले वीरेन्द्रलाई धेरै भेट्थे, गफ पनि धेरै गर्थे
०५१ सालको मध्यावधि निर्वाचनबाट एमाले सबभन्दा ठूलो दलका रूपमा स्थापित भयो । तर, संसद्मा बहुमत ल्याउन सकेन । अनि एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमत सरकार गठन भयो ।

त्यो सरकारको गृहमन्त्री हुनुहुन्थ्यो, केपी शर्मा ओली । उहाँ महाराजाधिराजसँग दर्शनभेटका लागि बरोबर आउने गर्नुहुन्थ्यो । तर, जहिल्यै निर्धारण गरेभन्दा दोब्बर समय बिताइदिनुहुन्थ्यो । ०५१र५२ सालमा गृहमन्त्री छँदा उहाँका लागि प्रायः ४५ मिनेट छुट्याइएको हुन्थ्यो । तर, जहिल्यै ९० मिनेटभन्दा बढी बसिदिनुहुन्थ्यो ।

निर्धारित समय सकिएपछि एडिसीले ढोका ढकढक गरेर भित्र पसी संकेत गर्नुपर्ने हुन्थ्यो । त्यसो हुँदा म ठीक ४५ मिनेट भएपछि ढोका ढकढक्याउन जान्थेँ ।‘एकछिन पख, कुरा सकिएको छैन,’ महाराजाधिराज आफैँले समय बढाइबक्सन्थ्यो ।