एकैदिन प्रधानमन्त्रीका दुईथरी दाबी: बचाउन खोजेको कि लुकाउन नजानेको ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

एकैदिन प्रधानमन्त्रीका दुईथरी दाबी: बचाउन खोजेको कि लुकाउन नजानेको ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट कोरोना रोकथान तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग भएको सम्झौता आफूलाई थाहा नदिइएको बताएका छन् ।

मङ्गलबार बसेको सचिवालय बैठकमा नेताहरूले प्रश्न गर्दा प्रधानमन्त्रीले आफूलाई यसबारे थाहा नै नभएको र गुमराहमा राखेर सम्झौता गरेको बताएका थिए । तर सोहीदिन ११ बजे राष्ट्रका नाममा सम्वोधन गर्दै स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमितता र नभएकोले बेमौसमी बाजा बजाएको आरोप लगाएका थिए ।

केहि घन्टाको अन्तरमा भएका दुई कार्यक्रममा उनले फरक फरक दाबी गर्नुले यसबिषयमा चासो राख्नेहरूलाई भने दुबिधामा पारेको छ । त्यतिमात्र होइन प्रधानमन्त्रीले आफू आसपासका केहि व्यक्तिहरूलाई बचाउन ज्यान फालेर लागेको नेकपाकै नेताहरूको ठहर छ ।

नेकपाकै एक नेताको दाबी अनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठक अगाडी नै राष्ट्रका नाममा सम्वोधन गर्नुको पनि खास उद्देश्य थियो । सचिवालय बैठकमा अनियमितताको बहस चर्किने सम्भावना देखेरै उनले सम्वोधनमै यो बिषयलाई पाखा लगाउन चाहन्थे । तर परिस्थिति भनेजस्तो भने भएन ।

केहि साता अगाडी गोकुल बास्कोटा काण्डमा पनि प्रधानमन्त्रीले उनलाई सफाई दिन खोजेको आरोप लागेको थियो । त्यसपछि पनि आफू निकटहरूलाई उनले राम्रै संरक्षण गरिरहेको आरोप समेत लाग्नेगरेको छ ।

नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य विभागका महानिर्देशक स्तरको खरिद सम्झौता भएकाले त्यसबारे आफूलाई जानकारी नभएको प्रष्टीकरण दिए । ‘ओम्नी समूहसँगको खरिद सम्झौताका बारेमा मलाई जानकारी थिएन’, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘महानिर्देशक लेबलबाट भएको सम्झौता भएकाले साथीहरुले मलाई केही भन्नुभएन ।’

तर उनले त्यो भन्दा अगाडी सम्वोधन गर्दै भनेका थिए ‘समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ ।

मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।

भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।’

उनले यस्तो भनिरहेकै बेला जानकारहरूले भने यदि अनियमितता नै भएको छैन भने ओम्नीसंगको सम्झौता प्रधानमन्त्रीले एकाएक किन तोडे ? सेनालाई सामाग्री खरिद गर्ने जिम्मा किन दिए ?

ओम्नीले गुणस्तरहीन सामान ल्याएको र सेटिङमा करोडौं घोटाला भएको समाचार आएपछि प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा ओम्नीसँगको सम्झौता रद्द गरिएको थियो ।