दीपक मनाङे आफैले भने: 'यो सरकार दुई साता पनि टिक्दैन' - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

दीपक मनाङे आफैले भने: ‘यो सरकार दुई साता पनि टिक्दैन’



पोखरा- गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको कामै नभएको बताएका छन् । उनले यो सरकार दुई साता पनि नटिक्ने बताएका हुन् ।

उनले आफूलाई यो सरकार नटिक्ने थाहा हुँदाहुँदै मन्त्री हुन तयार भएको बताएका छन् । ‘यो सरकारको कामै छैन, दुई हप्तामा जान सक्छ,’ बिहीबार शपथपछि पदभार ग्रहण गर्दै उनले भने, ‘जति समय बस्छु, परिवर्तन गरेर देखाउँछु ।’

उनले यो सरकार १० दिन या दुई साता टिक्ने भएकोले त्यतिञ्जेलसम्म राम्रो खेलकुद नीति बनाएर छाड्ने बताए । ‘मलाई मनाङबासीले सांसद बनाएर पठाएका हुन्, मन्त्री बनाउनलाई होइन,’ उनले भने, ‘म दुईवर्ष मन्त्री हुन्छु भनेर मन्त्री भएको पनि होइन । पोलिसी बनाएर छोडेपछि अर्को आउने मन्त्रीले त्यसैलाई टेकेर काम गर्न पाउँछन् ।’ उनले आफू मन्त्री हुन्छु भन्ने बिहीबार बिहान मात्रै थाहा भएको बताए ।

पार्टी मन परेर भन्दा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गुन तिर्न एमालेको पक्षमा उभिएको उनको भनाइ थियो । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम मन परेर आफू नेकपा प्रवेश गरेको उनले बताए । ‘एमाले र माओवादी छुट्टिएपछि म कतै पनि लागिन,’ उनले भने, ‘एमालेसँग मिलेर चुनाव लडेर जितेको हुँ । मुख्यमन्त्रीको गुन तिर्न पनि उनको पक्षमा उभिएँ ।’ विदेशी नेता मार्क्स, लेनिन र माओलाई आदर्श मान्ने पार्टी आफूलाई मन नपर्ने विचार उनले व्यक्त गरे ।

बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तय भएको दिन संसद् बैठकमा उपस्थित नभएको सन्दर्भमा उनले भने,‘जनमोर्चाले हालेपछि (अविश्वास प्रस्तावको समर्थनमा) हाल्छु भनेको थिएँ, उनीहरु नै आएनन् ।’
कांग्रेसको समर्थनमा मतदान गर्दा करोडौं रुपैयाँ खाएको आरोप लाग्ने भएकाले कतैतिर मतदान नगर्ने मुड बनाइरहँदा संसद् स्थगित भएपछि आफूलाई सजिलो भएको उनको प्रतिक्रिया थियो । युवालाई स्वरोजगार बनाउन र खेलाडीको आम्दानी वृद्धि गर्न सरकारी जग्गा उपयोग गर्ने योजना उनले सुनाए ।