तीजमा दिदी लिन गएका २ भाइको दिदीकै घरमा पहिरोले लियो ज्यान - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

तीजमा दिदी लिन गएका २ भाइको दिदीकै घरमा पहिरोले लियो ज्यान



काठमाडौं- तीजमा दिदीलाई लिन गएका २ जनालाई पहिरोले पुरेर मृत्यु भएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुरस्थित पस्ती गाउँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तीजको समयमा दिदीको घरमा पुगेका भाइहरू २४ वर्षीय अर्जुन दर्जी र १८ वर्षीय मिलन दर्जीको मृत्यु भएको बताइएको छ । पहिरो खसेर लेकम गाउँपालिका–५ घर पुरेपछि उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमबहादुर विष्टका अनुसार मृतककी दिदी घरधनी ३५ वर्षीया लक्ष्मी दर्जी, उनकी १४ वर्षीया छोरी सोनिया र ९ वर्षीय छोरा शुभम घाइते भएका छन् । घाइते तीनै जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट सकुशल उद्धार गरेको छ ।

मंगलवार बिहान ३ बजेतिर घरमाथि पहिरो खसेको थियो । घाइतेको शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका मृत्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन् भने लक्ष्मी दिदी हुन् । गौरा पर्वको लुगा सिउने कामका लागि दुवै दाजुभाइ दिदीको घरमा शंकरपुर पस्ती आएका स्थानीयले जनाएका छन् ।