ओलीका विश्वासपात्र मोतिलाल दुगडविरुद्ध उजुरी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीका विश्वासपात्र मोतिलाल दुगडविरुद्ध उजुरी



काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने व्यवसायी मोतिलाल दुगडको त्यतिबेला निकै रजगज थियो । राज्यशक्तिको दुरुपयोग गरेर विभिन्न लाभ लिएको चर्चा समेत चलेको थियो । राज्यमन्त्री बनाइएका दुगडलाई विभिन्न आर्थिक लाभका कारण ओलीले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनाइ एका थिए।

उनै दुगडविरुद्ध उझुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले उनीविरुद्ध उजुरी गरेको छ । दुगडलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको हो।

राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको हो। अघिल्लो सरकारको पालामा पनि उनीविरुद्ध आवाज भने उठेको थियो । तर सरकारको दवावमा त्यस्ता आजाव दबिएको समेत चर्चा चलेको थियो।

उजुरीमा उल्लेख भए अनुसार व्यापारिक मलहरूमा दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस प्रालि, टंकीसिनवारी, मोरङबाट उत्पादित सेन्चुरी स्प्रिंकल टेबल साल्ट नामक आयोडिनयुक्त नुनप्रति १०० ग्राम ३५ रुपैयाँ बिक्री मूल्य राखी ३२ रुपैयाँमा बिक्रीवितरण भइरहेको बताइएको छ । उपभोक्ता ठगी गरेको पाइएको भन्दै तत्काल छानबिन गरी कारबाहीको दायरमा ल्याउन मञ्चले उजुरीमा माग गरेको छ।

प्रतिसय ग्रामको ३५ रुपैयाँ उल्लेख भएको नून ३२ रुपैयाँमा बिक्रीवितरण गरेको पाइएको व्यहोरा अनुरोध गर्दै यसअघि आवश्यक अनुगमन र नियमनको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गत वर्ष नै उजुरी दिए पनि विभागले कुनै कारबाही नगरेको उजुरीमा उल्लेख छ। छानबिन गरी दुगडमाथि कारबाही चलाउनुको साटो उल्टै राज्य संयन्त्रले ठगी गर्न दुगडलाई सहयोग गरेको आरोप उजुरीमा लगाइएको छ।

उजुरीमा खाद्य ऐन कार्यान्वयन गर्नुपर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै ऐन उल्लंघन गरेको भन्दै विभागका सम्बन्धित पदाधिकारीलाई समेत कारबाहीको माग गरिएको छ।