लागु औषध विरुद्द सबैको साथ चाहन्छौं : गृहमन्त्री थापा

ललितपुर । मंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापाले लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिने बताएका छन् । आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको बताए ।
जसरी राजनीतिक उपलब्धी हासिल गर्न दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसरी नै विकास र समृद्धिका लागि संयुक्त आन्दोलन आवश्यक रहेको उनको भनाइ छ । गृहमन्त्रीले लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध राजनीतिक दलहरुले संयुक्त अभियान चलाउन आवश्यक रहेको भन्दै अभियानमा सबैको साथ आवश्यकको रहेको बताएका छन् ।
‘लागूऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोनको सुरुआत गर्दैछौँ । यो आन्दोलनमा जनसहभागिताको निक्कै ठुलो भुमिका छ,’ सम्बोधन गर्दै उनले भने, ‘युवाहरुलाई यो आन्दोलनकोे मुल कमाण्डरको रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

