डा. केसीबारे छलफल गर्न बालुवाटारमा बैठक - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

डा. केसीबारे छलफल गर्न बालुवाटारमा बैठक



१९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बनेपछि त्यसबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकस्मिक बैठक बसेको छ ।

डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न र उनको जीवनरक्षा गर्न सरकार गम्भीर नबनेको भन्दै आलोचना चौतर्फी चुलिएपछि २ साउन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपा केन्द्रीय सचिबालय बैठक बसेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पहलमा आकस्मिक रुपमा सचिबालयको बैठक बोलाइएको थियो, जुन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको ‘सेड्युल’मा थिएन ।

बैठक डा. केसीको अनसन र उनले उठाएका मागमा केन्द्रित भएको नेकपाका सचिबालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

स्रोतका अनुसार, बैठकमा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले केसीको अनशन प्रकरणमा सरकारले देखाएको व्यवहारले सरकार र पार्टी दुवैलाई क्षति पुर्‍याएको भनाइ राखेका थिए ।

बैठकमा अनशन प्रकरणबाट सिर्जित समस्याको समाधान कसरी गर्ने भन्नेबारे मध्यमार्गी बाटो खोज्ने छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालसँगै नेता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल समेत बैठकमा सहभागी थिए ।