वार्ता गर्न डा. केसी तयार !
१३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले आफ्ना मागका सम्बन्धमा सरकारले वार्ता टोली गठन गरे आफू पनि वार्ता टोली पठाउन तयार रहेको बताएका छन् ।
यसअघि आफूसँग भएको सम्झौताअनुरूप सरकार आफूसँग वार्ता गर्न तयार भए आफू पनि सहमत भएको बताएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुनुपर्ने उनको माग छ ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले एक विज्ञप्ति प्रकाशित गर्दै केसीले आफू सरकारसँग वार्ता गर्न चाहनन् भन्ने कुरा सत्य नभएको उल्लेख गरिएको छ । १३औं दिनसम्म सरकार संवेदनहीन र गैरजिम्मेवारीपूर्ण प्रस्तुत भइरहेका भन्दै असन्तुुष्टि व्यक्त गरेका छन्।
केसी सिकिस्त बिरामी हुन् :प्रजिअ
जुम्लाको स्थानीय प्रशासनले डाक्टर गोविन्द केसी अनशनकारी नभई ‘सिकिस्त बिरामी’ भएको संज्ञा दिएको छ । जुम्लामा १३ दिनदेखि अनशनरत डा. केसीलाई स्थानीय प्रशासनले अनशनकारी नभई सिकिस्त बिरामी भनेको हो ।
अनशनको पाँचौं दिन स्वास्थ्य उपचारका लागि कर्णाली विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका डा. केसीले प्रतिष्ठानमै अनशन निरन्तरता दिएका छन् । तर, स्थानीय प्रशासनले भने उनलाई बिरामी भएर प्रतिष्ठानमा उपचार गराइहेको बताएको छ । ‘डा. केसी बिरामी हुन्, उनकोे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘प्रशासनको नजरमा उहाँ मात्र बिरामी हुन्, अनशनकारी होइनन् ।’
अनशनको पाचौं दिन अत्याधिक छाती दुखेपछि सिकिस्त अवस्थामा जीवन रक्षाका लागि उपचार गर्न बिरामीका रूपमा डा. केसीलाई प्रतिष्ठान लगिएको हो । प्रजिअ पौडेलले भने, हामीले सुरक्षा दिएका छौं, उपचार गराइरहेककै छौं ।’