सत्याग्रह र डा. डा.गोविन्द केसीसँग तर्सियो सरकार - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सत्याग्रह र डा. डा.गोविन्द केसीसँग तर्सियो सरकार



काठमाडौं- चिकित्सा शिक्षामा सुधार र सुशासनको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा.गोविन्द केसीलाई प्रहरीले होटेलमै ‘नजरबन्द’मा राखेको छ ।

प्रहरीको अवरोधका कारण उनले एक साताका लागि सत्याग्रह स्थगित गरेका छन् । बिहीबारदेखि सत्याग्रह सुरु गर्न लागेका डा.केसीलाई जुम्ला सदरमुकामस्थित होटेलबाट प्रहरीले बाहिर निस्कनै नदिएपछि सत्याग्रह स्थगित गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

अनशन स्थगित गरेपछि मात्र प्रहरीले होटेलबाट निस्कन दिएको उनीसँगै रहेका विद्यार्थी महेन्द्र कार्कीले बताए । आफूसँग विगतमा भएका सम्झौता लागू नगरेको तथा चिकित्सा क्षेत्रमा सुधार नभएको भन्दै उनले सत्याग्रहको अल्टिमेटम दिँदै आएका छन् । एक साता सत्याग्रह स्थगित गरेका डा. केसीले कुनै पनि वेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

११ साउनमा तीनबुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका थिए । एक महिना बित्दा पनि केही प्रगति नभएपछि उनी सत्याग्रहमा बस्न लागेका हुन् । तर, प्रहरीले होटेलबाटै निस्कन नदिएपछि उनले स्थगित गरेको उनका सहयोगीले बताएका छन् । उनी बसेको होटेलको गेटमा सशस्त्र प्रहरीसमेत तैनाथ गरी उनलाई रोकिएको थियो।

प्रहरीले भने जिल्लामा निषेधाज्ञा लागू भएकाले कसैलाई बाहिर निस्कन नदिइएको जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निषेधाज्ञा सबैलाई लागू हुने भएकाले सोही निर्णय कार्यान्वयन गरिएको बताए।

सत्याग्रह स्थगनपछि डा.केसीले विज्ञप्ति निकाली प्रधानमन्त्रीले मेडिकल माफियासँग साँठगाँठ रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अनैतिक दम्भ र माफियाहरूसँगको साँठगाँठकै कारण कर्णालीमा एमबिबिएस अध्ययन सुरु हुन नसकेको उनको भनाइ छ।