डा. केसीको खण्डन :प्राविधिक त्रुटिका कारण जन्ममिति फरक
काठमाडौं। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डां गोविन्द केसीले आफ्नो जन्म मितिका विषयमा सार्वजनिक भएका समाचारको खण्डन गर्नुभएको छ ।
राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी डा। केसीले आफ्ना सक्कली प्रमाणपत्र सहित समाचार सत्य नभएको दाबी गर्नुभएको हो । उहाँले एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक सबै शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्म मिति २०१३ साल असोज २७ गते रहेको उल्लेख गर्नुभयो ।
प्राविधिक त्रुटिले गर्दा एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २०१३ साल माघ २४ गते रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आफ्नो शैक्षिक प्रमाण पत्रमा जन्म मिति र विभिन्न समयमा भरेका आवेदनलाई लिएर विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार आएको भन्दै सो प्रति ध्यानाकर्षण भएको बताउनुभयो । एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक बाँकी सबै शैक्षिक प्रमाण पत्रमा आफ्नो जन्म एउटै रहेकाले आफुसँग एउटा मात्र नागरिकता रहेको उहाँको भनाई थियो ।
एसएलसीको चारित्रिक प्रमाण पत्रका कारण बढुवाका लागि दिएका आवेदनमा फरक जन्ममिति उल्लेख भएको उहाँले स्वीकार्नुभयो । प्रधानन्यायधीश गोपाल पराजुलीको मिलेमतोमा त्रित्रिमा बुझाइएका आफ्ना कागजपत्रहरु नै गायव गरेर सक्कल कागजात नबुझाएको भनी अफवाह फैलाउने प्रयास भएको डा. केसीको आरोप थियो ।
प्रधानन्यायाधीश पराजुलीको नागरिकता र जन्म मितिबारे आफुले आवाज उठाएपछि ध्यान मोड्न आफ्नो विषय उछालिएको दाबी गदैं केसीले प्रधानन्यायधीश पराजुलीलाई पनि आफ्नो शैक्षिक प्रमाण पत्र सार्वजनिक गर्न चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा डा. केसीले प्रधानन्यायधीशले राजीनामा नदिएसम्म आफू लडिरहने समेत दोहोर्याउनु भएको थियो ।