डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील भएन :खाँड
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा बैठक बिहीबार पनि अवरुद्ध पार्नु परेको स्पष्टिकरण दिएको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीसँग गरिएको सहमति विपरित सरकार र सभामुखले प्रतिनिधिसभाबाट जब्बरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आफ्नो पार्टीले संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको स्पष्टिकरण दिनु भएको हो । उहाँले सभामुख कृष्णबहादुर महरा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संवादको माध्याम बन्नु पर्नेमा सत्तापक्षीय बनेकाले उहाँको आलोचना गर्नु परेको पनि बताउनु भयो ।
बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि संचारकर्मीमाझ कुरा गर्दै प्रमुख सचेतक खाँडले काँग्रेसले जनसरोकारका विभिन्न विषयलाई लिएर पनि सरकारविरुद्ध आन्दोलन शुरु गरेको स्मरण गराउनु भयो । नेपाली कांग्रेसले डा. केसीको माग सम्बोधन नगरेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको छ ।