नेशनलको सम्बन्धन खारेज गर्न डा. केसीको १० दिने अल्टिमेटम - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

नेशनलको सम्बन्धन खारेज गर्न डा. केसीको १० दिने अल्टिमेटम



काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले नेशनल मेडिकल कलेजलाई दिएको अबैध सम्बन्धन खोरेज गर्न १० दिने अल्टिमेटम दिएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले ३ बुँदै माग राख्दै ती माग पूरा नभए भदौ २२ बाट पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताएका छन्।

२२ दिने सत्याग्रहपछि हाल तराइका बाढी पीडितहरुको उपचारमा जुटिरहेका डा. केसीले सरकारले आफूहरुसँग पटक–पटक गरेका प्रतिवद्धता विपरीत नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै त्यसको विरोध गरेका छन्।
डा. केसीले प्रमुख दलहरुले चिकित्सा शिक्षा विधेयक पारित गर्न भन्दा पनि त्यसलाई रोकेर दलीय स्वार्थका लागि सम्बन्धन दिलाउन लागि परेका कारण आफूहरु पुनः आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

यस्ता छन् डा. केसीले राखेका तीन बुँदे मागहरुः

१, काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस्। त्रिविले दुरुपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस्।

२, हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस्।

३, त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारबहीको प्रक्रिया अघि बढाइयोस्। चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस्।