चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अब वार्ता हुँदैन : डा केसी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अब वार्ता हुँदैन : डा केसी



काठमाडौं- सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा गोविन्द केसीले म्यान्डेटबिना वार्ता नहुने बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै डा केसीले सरकारले  प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको जनाएका छन्। आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ। ‘यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिन्छ,’ उनले उल्लेख गरेका छन्।

यस्तो अवस्थामा आफ्ना मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने केसीको भनाइ छ।

‘वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं। त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं,’ केसीले उल्लेख गरेका छन्।

दुई दिनयता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको थियो।

सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन नसकेको केसी पक्षका वार्ता टोलीका सदस्यको भनाइ छ। मंगलबार मात्रै दुई पटक वार्ता भएको थियो।

डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्।

डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्। उनको स्वास्थ्य अवस्था दिनदिनै जटिल बन्दै गएको छ।