सरकारले केसीविरुद्ध अपनाएको व्यवहारप्रति थापाको प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारले काठमाण्डु उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि आक्रोश पोखेका छन् ।
नेता थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भिर आपत्ति व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे ।
तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणका विषयमा भक्तपुरमा दुर्गा प्रसाईको घरमा वार्ता भएको थियो । प्रसाई झापाको विर्तामोड स्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक हुन् । उनको घरमा दुवै नेताले २०७४ फागुन ६ गते खाना खाँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।
आक्रोशित रुपमा सदनमा प्रस्तुत भएका थापाले भने, ‘मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् । जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाउन् । वा सस्तोमा पढ्न पाउन् । गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याइयोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने र?’
नेता थापाले नेकपाका दुई अध्यक्षलाई लक्षित गर्दै दलाल पूँजीपतिले जसरी पनि मेडिकल कलेज खोल्न पाउन् भनेर चिकित्सा विधेयक ल्याउन लागिएको आरोप लगाएका छन् । उनले भने, ‘दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको उपलक्ष्यमा दुई वटा कम्युनिष्ट पार्टीका महान अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेशको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्धेश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने । सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ ।’

