वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो



जुम्ला । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न लागेका डा। केसीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । अनसन बस्न नदिएपछि आफुहरु जिल्ला प्रशासन अघि एक घण्टा धर्ना बसेको आफुहरुमाथि प्रहरीले लाठी चार्ज गरेको डा। केसीका सहयोगीहरुले बताएका छन् ।

डा. केसीका सहयोगीहरुका अनुसार पक्राउपछि हिरासतमै अनसनको घोषणा गरिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो २ बजेदेखि अनसन बस्ने केसीको तयारी थियो । तर, उनले अनसन बस्ने थाहा पाएपछि प्रशासनले एक दिन अघि नै शुक्रबार प्रतिष्ठान वरिपरि निषेधित क्षेत्र घोषणा गरिदियो ।

यसअघि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जादै गर्दा टुडिखेलको माथिल्लो गेट नजिकै डाक्टर केसीलाई प्रहरीले बाटोमै रोकेको थियो । प्रहरीले रोकेपछि उनी जिल्ला प्रशासन कार्यालयतर्फ गएका थिए ।

प्रशासन कार्यालय अगाडि डाक्टर केसीका समर्थकहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठी चार्ज गरेको थियो भने उनलाई पक्राउ गरेको हो । प्रहरीको लाठीबाट देवेन्द्र शाही र राजबहादुर महत घाइते भएका छन् ।

तर, जुम्लाका डीएसपी तपन दाहाल, ‘अनसन बस्न नदिने भए म प्रहरी कार्यालयमै जान्छु भनेपछि ल्याएका हौं’ भनेका छन् । डा। केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्नका लागि जुम्ला पुगेका हुन् ।

उनको अनसनको विषय अरु पनि छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको विषय पनि उनले अघि सारेका छन् ।