बाल मनोविज्ञान र 'मन्टेश्वरी'को शिक्षा - Himal Post Himal Post
  • ९ बैशाख २०८१, आईतवार
  •      Sun Apr 21 2024
Logo

बाल मनोविज्ञान र ‘मन्टेश्वरी’को शिक्षा



-डा गोबिन्द शरण उपाध्याय

आज अभिभावकहरू आफ्ना बालबालिकालाई दुई-अढाई वर्षको उमेर नपुग्दै विद्यालय पठाउन आतुर देखिन्छन् र निर्ममतापूर्वक आमाको दूध, परिवारको न्यानो छोडाएर मन्टेश्वरीमा घोक्रेठ्याक लगाएर फुर्सदको उत्सव मनाउछन् । हालका दिनहरूमा यो ट्रेण्ड निकै “आधुनिक, कामकाजी तथा विकास”को प्रतिक बनेको छ ।

उपनिषद्मा स्वेतकेतु ऊद्दालक पाँचवर्षको उमेरमा गुरुकुलमा गएका थिए भने हिरण्यकशिपुले प्रहलादलाई पाँचवर्षको उमेरमा गुरुकुल पठाएका थिए । वैदिक संस्कृतिमा “पालयेत पन्च वर्षाणियो” अर्थात् पांचवर्षको उमेरसम्म बालबालिकाको केवल हेरविचार, लालनपालन पालनमा ध्यान दिनुभन्ने आदेश दिएको छ ।

आधुनिक मनोविज्ञानले समेत पांचवर्ष उमेर नपुगी वालवालिकालाई विद्यालय नपठाउन सल्लाह दिन्छ जसमा जेम्स डेवी, विलियम जेम्स अल्वर्ट वान्दुरा, हवार्ड गार्डनर आदि प्रमुख मनोबैज्ञानिकहरूले पनि यही सल्लाह दिएका छन् ।

वैदिक शिक्षाका चारवटा लक्ष छन् – धर्म, अर्थ, काम र मोक्ष । ऋषि जैमिनीले मीमांसा दर्शनका माध्यमबाट धर्मको ब्याख्या गरेका छन् । कौटिल्यले अर्थको चरित्रको ब्याख्या गरेका छन् । बात्स्यायनले काम अर्थात् दाम्पत्य जीवनको ब्याख्या गरेका छन् भने वादरायण ब्यासले मोक्षको ब्याख्या गरेका छन् तर पंचतंत्रका लेखक विष्णुशर्मा (ई.पू, ३४७) ले विद्याले विनम्रता, विनम्रताले पात्रता, पात्रताले धन प्राप्ति र धनले धर्म हुन्छ भनेर विद्याको उपयोगिता बताएका छन् । तर हामीले आफ्ना बालबालिकालाई दिने शिक्षाले केवल अर्थ र काम सिकाउँछ । धर्म, बिनय र पात्रतालाई महत्व दिदैन । एक्लिदै गएको बूढो जनसंख्या एसको बलियो उदाहरण छ ।

हामीले अर्थ र काम सिकाउने शिक्षा प्रदान गर्यौं, हाम्रा बालबालिका ठूला भएपछि एकल परिवार रोजेर धन कमाएका छन् र कामको उपयोग गरिरहेका छन् । यदि दुईजना वीच मातापिता आउँछन् भने त्यो व्यक्तिगत स्वत्रन्त्रताको हनन हुन्छ । मैले धर्म र विनय जोड्ने सल्लाह दिन्छु तर मेरो सल्लाह सुन्न तयार हुनेहरूको खडेरी छ । हामी आफ्ना बालबालिकालाई एटीएम मसिन बनाउन उद्दत छौँ ।

तर हामी कसैको सल्लाह मान्दैनौं किनभने हाम्रो सरकारले नै कानुन वनाएर दूधे बालबालिकालाई कितावको भारी बोकाउन प्रतिबद्ध छ र हामी अभिभावकहरू “अंग्रेजी-मोह”मा चुर्लुम्म डुवेका छौँ । हामी बालबालिकाको बाल्यकाल ब्यापारीको हातमा सुम्पेर ढुक्क हुन र आधुनिक मातापिता भनेर आफ्नो पहिचान वनाउन आतुर छौँ ।

आजको मितिसम्म विद्यालयमा (बालकेन्द्र, मोंटेसरी, पाठशाला) आफ्ना बालबालिकालाई पठाईसकेपछि के सिकाउने र कस्तो सिकाउने भन्ने विषयको निर्णय विद्यालयका संचालकहरूले गर्छन् । अभिभावक र बालबालिकाहरूले केवल “घिच्ने” हो । खाने र लाउने विषयमा अलिअलि बोले पनि “पठनपाठन”को विषयवस्तुको वारेमा बुझ्ने, बोल्ने र सल्लाह दिने अधिकार अभिभावकलाई छैन । सोधपुछ गर्ने अभिभावकहरू अवान्छित हुन्छन् ।

तैपनि म आज एउटा अभिभावकको नाताले सरकार, अभिभावक र विद्यालयका संचालकहरूलाई अवान्छित सल्लाह दिंदैछु । मन परे पनि नपरे पनि पढ्ने प्रयत्न गर्नुहुन्छ कि ?

१, सकेसम्म पाँचवर्ष उमेर नटेकी आफ्ना बालबालिकाहरूलाई कुनै पनि विद्यालयमा “पढ्न” नपठाउने – धेरै अभिभावकहरूलाई यो सल्लाह मन पर्दैन तर वास्तविकता यही हो । बालवालिकाको सबैभन्दा उत्तमशिक्षा र शिक्षक उसका आफ्ना आमावुवा र परिवारका निकटस्थ माया गर्ने सदस्यहरू नै हुन् । वालवालिकाले आफ्ना मातापिता तथा अभिभावकहरूको दैनिक ब्यबहार, बोलीचाली, लवाई-खवाई, घरायसी वातावारणका आधारमा धेरै कुरा सिक्छ ।

२. यदि कम उमेर मैं बालबालिकालाई विद्यालय पठाउनै पर्ने हो भने कमसेकम बालबालिकाले समय विताउने ठाउँमा मातृभाषाको प्रयोग सुनिश्चित हुनुपर्छ, घरको संस्कृति, चालचलन तथा मान्यताहरू झल्किने गरी कक्षाकोठाको सजावट र शिक्षक-शिक्षिकाको आपसी ब्यबहार हुनुपर्छ । उदाहरणका लागि, शिक्षक-शिक्षिकाहरू एकआपसमा भेट्दा “नमस्कार” भनेर अभिवादन गर्ने, पाहुनालाई अतिथिदेवोका रूपमा स्वागत गर्ने, आमावुवा तथा मान्यजनहरूलाई गोडामा ढोग्ने, दशैं-तिहारआदि रैथाने चाडवाडहरू नितान्त घरायसी तवरले मनाउने र बालबालिकालाई तेसमा सामेल गर्नेजस्ता विषयहरू अभिनित गर्नुपर्छ ।

३. नेपाल एउटा धर्मप्राण देश हो । बालबालिकाले आरम्भदेखि नै वैदिक संस्कृति, साहित्य, आहारब्यबहार, भाषा, जीवनशैलीका विषयमा वास्तविक र तत्थ्यगत जानकारी पाउनुपर्छ । वेदले आमावुवालाई देवता किन भनेको हो ? पशुपतिनाथ किन राष्ट्रदेव हुन् ? किन बुद्ध नेपालका गौरव हुन् ? जस्ता विषयहरू अंग्रेजीमा होइन मातृभाषामा बालवालिकालाई देखाएर, कोर्न लगाएर, शिक्षक-शिक्षिकाले एकआपसमा कुरा गरेर, तेस विषयमा बनेका चलचित्रहरू प्रदर्शन गरेर र ती ठाउँमा भ्रमण गराएर प्राकृतिक तवरले सिकाउनु पर्छ ।

कृषि प्रधान देशका बालबालिकाले कलिलो उमेर देखिनै कृषिकर्म गरेको देख्न-जान्नपर्छ । मान्छेले चन्द्रमामा पुगे पनि अन्न-पानी खानैपर्छ, विज्ञानको ल्यावमा एउटा अनि धानको गेडागुडी बनाउन सकिन्न भन्ने कुरा बालबालिकाले आत्मसात् गर्नुपर्छ ।

४. हामी ऋषिमुनिका सन्तान हौँ । हाम्रो पहिचान वैदिक ऋषिसंग जोडिएको छ भन्ने कुरा बुझाउन ऋषिमुनिहरुको जीवनी, उनीहरूको त्याग, उनीहरूका कार्यहरूका विषयमा कथा, चित्र, चलचित्र, तपस्यास्थल आदिका माध्यमबाटबाट चिनाउनुपर्छ । उदाहरणका लागि, कोशी नदीका किनारामा तपस्या गर्दै ऋषि बशिष्ठ र विश्वमित्रले वेदका मन्त्रहरू साक्षात्कार गरेको, वेदब्यासले दमौलीमा १८ पुराण लेखेको, पर्वतको जिमिरेमा ऋषि जैमिनीले मीमांसा दर्शन लेखेको, पाणिनीले अर्घाखाँचीमा ब्याकरण लेखेकोजस्ता विषयहरू सिकाउनुपर्छ ।

५. संस्कृत र पाली भाषा नेपाली भाषाहरूको स्रोत हुन् । तेसैले हरेक बालबालिकाले उमेर अनुसार, सुनेर, पढेर घोकेर संस्कृतभाषा जान्ने वातावारण सुनिश्चित गर्नुपर्छ । अंग्रेजी भाषा सिक्नु राम्रो कुरा हो तर बालबालिकाले अंग्रेजी सिकेर नेपालको मौलिकता जोगिन्न । बरू, आफ्नै भाषा-संस्कृति तथा सभ्यताप्रति हीनताबोध उत्पन्न हुन्छ । अंग्रेजी जान्ने र बोल्ने मात्रै सभ्य हुन्छ, विद्वान भन्ने भ्रम मनमा बलियो हुन्छ । उदाहरणका लागि अंग्रेजी माध्यममा पढिरहेका बालबालिकाहरू नेपाली लेख्न र पढ्न भने पछि मरेतुल्य गर्छन् । जवकि उनीहरूले बोल्ने नेपाली, मैथिली, भोजपुरी भाषाहरूमा ६०% संस्कृत शब्द पहिले देखि नै विद्यमान हुन्छन् । हीनताबोधले गर्दा नेपाली भाषाहरूसंग गोरुबेचेको समेत नातो नभएको अग्रेजी सजिलो लाग्छ ।

६. आफ्नो इतिहास, धर्म, संस्कृति, सभ्यता, भोजन, रहनसहन (असल) प्रति गौरव गर्न सिकाउँ । बालबालिकाले धेरै कुरा जान्नुपर्छ तर त्योभन्दा पनि बढी आफ्नो इतिहास, संस्कृति तथा मौलिकताको विषयमा बुझेको हुनुपर्छ । बालवालिकाले मेलवोर्न, टेक्सस, क्याम्ब्रिजको वारेमा जान्नु भन्दा जनकपुर, लुम्बिनी, मुक्तिनाथ, तक्षशीला, अयोध्या, वाराणसीका विषयमा जान्न जरुरी छ । सोक्रेटिज, प्लेटो, जर्ज-वासिंगटन, कार्लमार्क्सलाई चिन्नुभन्दा पहिले कणाद, आचार्य शंकर, गोरखनाथ, पृथ्वीनारायण शाहलाई चिन्नु आवश्यक छ ।

७. एउटा अमेरिकनले अमेरिकी भएकोमा गर्व गर्छ, एउटा इसाईले इसाई भएकोमा गर्व गर्छ, मुस्लिम आफुलाई गौरवका साथ मुसलमान भएको परिचय दिन्छ, तेसैले हामीले पनि आफ्ना बालबालिकाका लागि गौरवका साथ “म हिन्दू, बौद्ध, बोन, किरात हुँ” भन्ने परिचय दिंदा गौरव गर्ने शिक्षा प्रदान गर्न विद्यालय-सरकारलाई बाध्य बनाउनु पर्छ । मान्छेलाई कम्युनिस्ट, इसाई, मुस्लिम भन्न हीनताबोध हुँदैन भने हिन्दू भनेर परिचय दिन किन हीनताबोध ?

८. हामी भारतवर्षका नागरिक हौँ । हाम्रो मौलिक उत्पत्तिथलो नेपाल हो । अनि, १८४७ मा जोन मिलले संस्थागत गरेको र म्याक्समुलरले कथेको “आर्य एउटा आक्रमणकारी जाति थियो र वर्तमान जातजातिका पूर्खा ककेसियन हुन्” भन्ने इतिहासलाई अस्वीकार गर्ने शिक्षा बालबालिकालाई प्रदान गर्ने सुनिश्चित गर्नुपर्छ । अव बालबालिकालाई हामीले सिकाउनु पर्छ कि आज सम्मको इतिहास विदेशीले लेखेका हुन् उप्रान्त, तिमीहरूले पर्यपेक्षण, प्रयोग र प्रमाणित गरेर इतिहास लेख्नु पर्ने छ । बालबालिकाले जान्नुपर्छ किन योगी नरहरिनाथले नेपालका गाउँगाउँ पुगेर खोजेको इतिहास विविले अस्वीकार गर्छ र मिलले लेखेको इतिहास मान्न बाध्य बनाउँछ ।

९. हाम्रा बालबालिकाले धर्म र रिलिजन बीच के फरक छ भन्ने कुराको शिक्षा पनि प्राथमिकतह मै थाहा पाउनु पर्छ । चन्द्र शमशेरले नेपालबाट दास प्रथाको अन्त्य गर्दा एकजना मान्छे पनि मारिएको थिएन तर अमेरिकामा अब्राहम लिंक्कनले दास प्रथाको अन्त्य गर्दा किन ८ लाख मान्छेको हत्या भयो ? किन युगान्डामा एकै धर्म मान्ने (इसाईले) ८ लाख तुत्सीहरूको (१९९२) क्रुरतापूर्वक हत्या गरे ? हामीले आफ्ना बालबालिकालाई सिकाउनु पर्छ किन हिन्दूहरूले इसाई-मुस्लिमको आमहत्या गरेको इतिहास छैन ? उत्तर सरल र सहज छ किनभने हामी हिन्दू, बौद्धहरू सहिष्णु छौं । बालबालिकाले मन्दिर भत्काएर बनाएका मस्जिदहरू र इसाईहरूले गरेको होलोकास्टको इतिहास पनि जान्नैपर्छ ।

१०. आदरणीय अभिभावकज्यू, शिक्षक-शिक्षिकाज्यू, यहाँ थप्नु पर्ने थुप्रै कुराहरू छन् | तपाईंले थप्न सक्नुहुन्छ र थप्न अनुरोध गर्छु । मसंग विमति राख्नेहरूको पनि म सम्मान गर्छु, विमतिहरू पनि यहाँ उल्लेख गर्न अनुरोध गर्छु । म यो सबै गर्न सक्छु किनभने मेरो संस्कृतिले मलाई एस्तो स्वतन्त्रता प्रदान गरेको छु ।