डा. भट्टराईले भने मेरो विवाहमा पनि भरत शम्शेरको हात छ - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

डा. भट्टराईले भने मेरो विवाहमा पनि भरत शम्शेरको हात छ



काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता तथा पूर्वकेन्द्रीय सदस्य भरत शमशेरका कारण हिसिला यमीसँग वैवाहिक सम्बन्ध गाँसिएको बताएका छन् ।

पूर्वकेन्द्रीय सदस्य भरत शमशेरको १३ औं दिनको पुण्यतिथीमा कांग्रेसले बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा डा. भट्टराईले यस्तो खुलासा गरेका हुन् ।

‘‘दरबारमा हुर्किएको मान्छे विद्रोहमा लागेकै कारणले आज नेपालको लोकतान्त्रिक आन्दोलनले उचाइ लिएको छ,’’ उनले भने, ‘‘म गाउँमा हुर्किएको भए पनि भरत शमशेरसँग मेरो नजिकको सम्बन्ध छ । मेरो व्यक्तिगत जीवनमा पनि उहाँको महत्वपूर्ण देन छ ।’’

आफ्नो भारतको चण्डीगढ र दिल्ली अध्ययन गर्दाका दिनहरुको स्मरण गर्दै डा. भट्टराईले भरत शमशेरले लेखेको पुस्तकका कारण आफू हिसिलासँग नजिक हुन पुगेको बताए । ‘‘मेरो विवाहमा पनि भरत शम्शेरको हात छ । २०३४ सालमा चण्डीगढबाट आर्किटेक्चरमा ब्याचलर डिग्री सकेर दिल्ली मास्टर्स डिग्री पढ्दै गर्दा एक जना साथीमार्फत हिसिला यमीसँग भएको परिचयमा भरत शमशेर कारण बन्नु भएको थियो,’’ उनले भने ।

दिल्लीमा नेपाली युवा–युवतीहरुको होस्टल र मेस एउटै रहेको स्मरण गर्दै सोही क्रममा आफू र हिसिलाबीच सम्बन्ध गाँसिएको बताए । ‘‘त्यहाँ एक जना नेपाली युवतीपनि रहिछन् । एक जना युवा साथीले परिचय गराउनुभयो । ती महिलाले आई एम हिसिला यमी भनेर परिचय गर्नुभयो । उहाँलाई त्यति बेला नेपाली बोल्न आउने रहेनछ । कि अंग्रेजी बोल्ने कि नेवारी,’’ उनले विगत सम्झिँदै भने, “मलाई पनि अनायासै आयो, आर यु डटर अफ धर्मरत्न यमी भने । हाउ यु नो माई फादर भन्नू भयो उहाँले । मैले त्यति बेलै भने, भरत शमशेरको एउटा पुस्तक थियो, त्यो पु्स्तकमा राजा महेन्द्रका अपराधहरु बखान गर्ने क्रममा एउटा साहसी मध्येमा उहाँले धर्मरत्न यमी भन्ने पनि लेख्नु भाको थियो । त्यो यमी भन्ने नाम मैले अन्त कहीँ पनि नसुनेको हुनाले पक्कै पनि काठमाडौंकी यमी भएर हो कि भनेर मैले अनुमान गरेको । मेरो अनुमान ठिकै काम गरेछ त्यहाँ । त्यसरी हाम्रो सम्बन्ध बन्यो ।’’