अब जनताले सरकारको विकल्प खोज्नुपर्छ: डा भट्टराई - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

अब जनताले सरकारको विकल्प खोज्नुपर्छ: डा भट्टराई



गोरखा : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन्।

शनिबार गोरखामा भट्टराईले सरकारको अहिलेको गतिविधिका कारण जनताले छिट्टै विकल्प खोज्ने दाबी गरेका हुन्। भट्टराईले यस्तो दाबी गर्दै आफूले मुलुकमा अस्थिरता भने नचाहेको प्रष्ट पारे।

‘त्यत्रो लामो संघर्ष गर्दै १४ बर्ष जेल बसेर आउनु भएका प्रधानमन्त्री, ठूलो विद्रोहको नेतृत्व गरेर आउनु भएका प्रचण्ड र मेरै सहकर्मी माओवादी साथी सहभागी सरकारले जनता र राष्ट्रको पक्षमा केही काम त गर्छ कि भन्ने लागेको थियो’, गोरखाका सांसद रहेका भट्टराईले भने, ‘तर उहाँहरुले केही पनि गर्नुभएन। उल्टै पाँच–छ महिनाभित्र नै जनविरोधी, राष्ट्रहित विरोधी चरित्र देखाउनु भयो। त्यो चाहिँ बडो चिन्ताजनक बिषय छ। त्यसैले जनताले छिट्टै नयाँ विकल्प खोज्छन्।’

सरकारले दुई तिहाइको दुहाइ मात्र दिएर नभै जनपक्षीय काम गर्नुपर्ने उनको भनाइ छ।  ‘चुनावमा उहाँहरुले बाँड्नु भएको घोषणापत्र अनुसारको काम त जनताले खोज्छन्’, उनेले भने, ‘मेरो भनाइको गलत व्याख्या पनि हुन सक्छ। तर यो सरकार अस्थिर बनोस् भन्ने मैले कत्तिपनि चाहेको छैन।’

भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्करसँगको साँठगाँठ, सिण्डिकेट र कार्टेलिङले सरकार बदनाम भएको उनको भनाइ छ। ‘भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्कर, सिण्डिकेट र कार्टेलिङको नियन्त्रण गर्ने भनेर अलिकति आवाज उठेको त थियो तर पछि आफ्नै आसेपासे मान्छे रहेको पाइयो’, उनले भने, ‘जसले खर्च दिएर नेता पाल्छन्, खर्च दिएर चुनाव जिताउँछन्, तिनको दबाबले गर्दा उहाँहरु पछि हट्नु भएको छ।’