भारतले वार्ताको लागि सहजीकरण गर्न आग्रह गरेको छ : डा. भट्टराई
गोरखा – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले आफूलाई वार्ताको लागि सहजीकरण गर्न आग्रह गरेको बताएका छन् । उनले कतिपय भारतीय मन्त्रीहरू आफ्ना सहपाठी भएकैले पनि सम्पर्क भैरहने खुलासा गरेका छन्
सोमबार गृह जिल्लामा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्न नहुने बताएका छन् । तर नेपालको गुमेको भूमि कसैले खोसेर लान नसक्ने बताएका पनि उनले छन् ।
‘कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उनले भने, ‘फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।’
डा. भट्टराईले भारतले अतिक्रमण गरेका भूभाग समस्याको समाधानका लागि सहजीकरण गर्ने बताएका छन् । भारतीय विदेशमन्त्री र अर्थमन्त्री आफ्नै पूर्वसहपाठी भएको बताउँदै डा. भट्टराईले उनीहरुले वार्ताको वातावरण बनाउन आफूलाई आग्रह गरेको बताएका छन् ।
‘भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उनले भने, ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ । त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापनी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै संविधानमा निसान छापसमेत परिवर्तन गरिसकेको छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।