डोटी जिप दुर्घटना: चुँडियो जिन्दगीको सहारा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

डोटी जिप दुर्घटना: चुँडियो जिन्दगीको सहारा



‘दुर्घटनामा बुवा–आमाको मृत्यु भएपछि डेढ वर्षीय शिशु र हजुरबुवाको बिचल्ली’

कान्तिपुर : डोटी । २३ वर्षको कलिलो उमेरमा कमला विकको सिउँदो पुछियो । उनले गत कात्तिक १८ गते जिप दुर्घटनामा जीवनसाथी रोशनलाई गुमाइन् । केआईसिंह गाउँपालिका–३ मा भएको दुर्घटनामा रोशनको मृत्यु भएको थियो ।

पतिको शोकमा डुबेको ६ महिना नबित्दै कमला आफैं दुर्घटनामा परिन् । सोमबार दिपायलबाट बोगटान गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा उनको मृत्यु भयो ।

उक्त दुर्घटनामा कमलासहित ४ यात्रुको ज्यान गएको हो । कमलाका डेढ वर्षीय छोरा उपेन्द्र र ससुरा नरबहादुर भने घाइते छन् । यो परिवारमाथि शृंखलाबद्ध रूपमा भएको दुर्घटनाले पीडामाथि पीडा थपिएको छ । ससुरा नरबहादुर छोरा–बुहारीको मृत्युले निकै आहत भएका छन् ।
ससुरा र बुहारीले तराईमा बसोबास गर्ने नयाँ योजना बनाएका थिए । बिमा रकम बुझ्न दिपायल आएका थिए । चार दिनसम्म विभिन्न कानुनी प्रक्रिया पूरा गरी बोगटान गाउँपालिका ६ पलाडीस्थित घर फर्कन
लाग्दा दुर्घटना भयो । बुहारी कमलाको ज्यान गयो । ‘भगवानले यस्तो अन्याय पनि गर्दोरहेछ, छोराको याद गर्न बाँचेकी बुहारीलाई पनि जिप दुर्घटना नै काल बनेर आयो,’ घाइते ससुरा नरबहादुरले अस्पतालको बेडमा सुस्केरा हाल्दै भने, ‘जवान छोरा–बुहारी गए । म घाइते बुढाले यो दुधे नासोलाई कसरी पालौं ?’

०५१ मा दिपायल आएका थिए, विनोद रावल । सरकारी शिक्षिका कृष्णा कठायतसँग बिहे गरेपछि नेपालगन्जको जागिर छोडेर उनी दिपायलमै जमे । मंगलबार डडेलधुरामा भएको जिप दुर्घटनामा परी रावलले ज्यान गुमाए ।

शैलेश्वरी यातायात व्यवसायी समितिका कोषाध्यक्षसमेत रहेका रावलको सम्झनामा बुधबार डोटीका बजार बन्द गर्नुका साथै यातायातसमेत सञ्चालन गरिएन । ‘जानुअघि चिया पसलमा हाँसोठट्टा गरेर निस्केका थिए,’ रावलका छिमेकी पत्रकार नवराज पनेरुले भने, ‘परिवारले जिम्मेवार अभिभावक गुमायो भने समाजले सम्भावना भएको व्यक्तित्व गुमायो ।’

सरल र इमान्दार युवाका रूपमा चिनिएका ३१ वर्षीय भरत द्वारियाको पनि सोही जिप दुर्घटनामा मृत्यु भयो । दिपायल घर भएका क्रिकेट खेलाडी भरत आफैं जिप धनी हुन् । सामाजिक कामका साथै क्रिकेट खेल विकासमा जुटेका भरतको परिवार र समाज अहिले शोकमा डुबेको छ । परिवारले उनको असारमा बिहे गर्ने तयारी गरेका थिए ।

‘उनी अत्यन्त शान्त र सरल स्वभावका युवा थिए, समाजका लागि केही गरौं भन्ने भावना थियो,’ दिपायलका व्यापारी गोपाल माझीले भने, ‘यस्तो राम्रो मान्छेलाई नै काल आउँदो रहेछ, घटनाले साह्रै विक्षिप्त बनाएको छ ।’

पछिल्लो समय डोटीका ग्रामीण सडकमा दुर्घटना बढेका छन् । जिल्ला प्रहरीका अनुसार चालु आर्थिक वर्षमा २८ जनाको मृत्यु भएको छ । विकासका नाममा जथाभावी निर्माण गरिएका सडकले प्रत्येक वर्ष ग्रामीण सडकमा दुर्घटना हुने क्रम बढेको छ । कान्तिपुर दैनिकमा खबर छ ।