अमेरिकी सहायकमन्त्री डोनाल्ड किन आए नेपाल ?
काठमाडौं- दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ काठमाडौं आइपुगेका छन् ।
दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लुले पर्सि शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।
नेपालस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जानकारी दिएको छ ।
बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने छन् । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो ।