राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन माग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन माग



एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला सांसदलाई लक्षित गरी आक्रामक ट्वीट गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । ट्रम्पको यो ट्वीटले उनले रंगको आधारमा विभेद गरेको आरोपसमेत लागेको छ ।

ट्रम्पले ट्वीट गर्दै ती महिलार पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए ।

ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क यात्राको अवसर जुटाइदिने गरेको भन्दै कटाक्ष गरेपछि नयाँ तरंग सिर्जना भएको हो ।

प्रगतिशील धारका चार महिला सांसदसँग सभामुख पेलोसीको मतभेद देखिएको एक सातापछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् ।

सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मिएका हुन् भने अर्की सांसद इल्हान ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् ।

केही सातायता पेलोसी र यी महिना सांसदबीच सीमा सुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो । ट्रम्पको ट्वीटको सभामुख पेलोसीले आलोचना गरेकी छन् । उनले सो ट्वीट भेदभावपूर्ण भएको बताएकी छन् ।

उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति भएको भन्दै ट्रम्पको आलोचना गरेकी छन् । मिसिगनबाट सांसद बनेकी रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने बताएकी छन् ।

यस्तै, डेमोक्रेट नेता बर्नी स्यान्डर्सले ट्रम्प जातिवादी भएको आरोप लगाएका छन् । उनले भनेका छन, ‘न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ ।’

ट्रम्पले ट्वीटमा प्रतिक्रिया दिँदै अमेरिकाबारे नराम्रो कुरा गर्नेलाई डेमोक्रेटहरूले समर्थन गर्नु दुःखद भएको टिप्पणी गरेका छन् ।