डलरको भाउमा नयाँ रेकर्ड, ११६ पुग्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

डलरको भाउमा नयाँ रेकर्ड, ११६ पुग्यो



काठमाडौं । अमेरिकी डलरको भाउले आकासिँदै नयाँ रेकर्ड कायम गरेको छ । डलरको भाउ मंगलबार एकै दिन १ रुपैयाँ १५ पैसाले महँगो हुन पुग्यो र यो महँगो हुने क्रम अझै जारी छ ।

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरबराबर १ सय १६ रुपैयाँ २३ पैसा बिक्री दर र १ सय १५ रुपैयाँ ६३ पैसा खरिद दर तोकेको छ । सोमबार डलरको बिक्री दर १ सय १५ रुपैयाँ ८ पैसा पुगेको थियो ।

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले मंगलबार १ अमेरिकी डलरबराबर भारु ७२ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असार पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने निश्चित छ । जसका कारण प्रत्येक नेपाली परिवारलाई असर पर्न थालिसकेको छ ।

मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो । नेपालबाट गएको आर्थिक वर्ष ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो ।

उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तै पनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।