डाक्टर कुटेका दिवानसिंहले विद्युत प्राधिकरणका प्रमुखलाई धम्क्याए - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

डाक्टर कुटेका दिवानसिंहले विद्युत प्राधिकरणका प्रमुखलाई धम्क्याए



कञ्चनपुर । बिबादित नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद् दिवानसिंह बिष्टले नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका कार्यालय प्रमुखलाई कुट्ने धम्कि दिएका छन् । कार्यालय प्रमुख सुनिलकुमार शाहलाई कुटपिट गर्ने धम्की दिएको अडियो समेत बाहिरिएको छ ।

मन्त्री वीना मगरको निर्देशनमा काम गरेको भन्दै शाहलाई टेलिफोनमा धम्कि दिएको बताइएको छ । विद्युत प्राधिकरणका प्रमुख शाहसँग केही दिनअघि पूर्वसभासद् बिष्टले टेलिफोनमा गरेको वार्तालापको अडियो रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त घटना सार्वजनिक भएको हो । टेलिफोन वार्तालापको अडियो रेकर्डमा बिष्टले शाहमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता बनेर जिल्लामा काम गरेको आरोप समेत लगाएका छन् ।

अडियो रेकर्डको सुरुवातमै केही महिना अगाडि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरमाथि आफूले कुटपिट गरेपछि जागिर छाडेर गएको बताएर धम्कीको सुरुवात गरेका छन् ।उनले शाहलाई सोधेका छन् ‘‘तपाईं कर्मचारी हो कि कम्युनिस्ट पार्टीको कार्यकर्ता हो ?’’

बिष्टले यसअघि गत असोजमा घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. अमित पण्डितमाथि कुटपिट गरेका थिए । तत्कालिन समयमा बिष्टले डा. पण्डितमाथि बिरामी रिफर गर्ने र प्राइभेट प्राक्टिसमा बढी केन्द्रीत हुने गरेको आरोप लगाएका थिए ।

प्राधिकरणले पुनर्वास नगरपालिकाको विद्युतीय समस्या समाधानका लागि झण्डै दुई करोड बजेट विनियोजन गरेको थियो । प्राधिकरणले उक्त बजेटबाट पुनर्वास नगरपालिकामा २२ वटा ट्रान्सफर्मर, पोल र तारहरु उपलब्ध गराउने योजना बनाएको थियो ।

पटक–पटक कर्मचारीलाई धम्की दिने, कुटपिटमै उत्रिनेलगायतका गतिविधि गर्दै आएका नेता बिष्ट आफ्नो निर्वाचन क्षेत्रमा अलोकप्रिय बन्दै गएका छन् । उनि दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर–१ बाट विजयी कांग्रेस नेता बिष्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी नेतृ मगरसँग पराजित भएका थिए ।