चौटा खान आएका दीपकुमार झोलमा डुबे
काठमाडौं ।
सांसद बन्न राजदुतको जिम्मेवारी चटक्कै छाडेर आएका दीपकुमार उपाध्याय अन्तत पराजयको शिकार बने ।
भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका थिए ।
कांग्रेस नेता उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका हुन् । उनलाई माओवादी नेता तथा पूर्व लडाकु कमाण्डर चक्रपाणी खनाल बलदेवले हराएका हुन् ।
आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार कपिलबस्तु १ मा खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।
नाकाबन्दीको बेला राजदूतका रुपमा राम्रो भूमिका निर्वाह नगरेको र सरकार ढाल्न षडयन्त्र गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाएका थिए ।
तर, कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उपाध्यायलाई पुनः भारतको राजदूतमा नियुक्त गरिएको थियो । उपाध्याय चुनावको मुखमा राजदूत पदबाट राजिनामा दिएर आएका थिए ।