मनाङेलाई खोज्न गएका प्रहरी दङ्ग परेर फर्किए ! - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

मनाङेलाई खोज्न गएका प्रहरी दङ्ग परेर फर्किए !



दिपक मनाङे उर्फ राजिव गुरुङ हेटौडामा हरेको सुइँको पाएर प्रहरी पुग्दा मोबाइल मात्र भेटिएको छ ।  प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा देखायो।

उक्त लोकेसनका आधारमा मनाङेलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको एक टोली गत साता हेटौंडा प्रस्थान गर्‍यो।

मनाङे पक्राउ गर्न भन्दै ठिक्क परेर हेटौंडा पुगेको महाशाखाको टोलीले उक्त लोकेसन देखाएको घरको पहिचानतर्फ लाग्यो र पत्ता पनि लगायो। मनाङेको ससुराली हेटौंडा नै हो। प्रहरीले पत्ता लगएको लोकेसन अनुसारको घर उनका आफन्तकै परेछ। प्रहरी झनै ढुक्क भयो। प्रहरीले उक्त घर सर्च गर्‍‍यो मनाङे भने भेटिएनन्। फेरि, पनि उनको लोकेसन त्यही नै देखाएपछि प्रहरी हैरान भयो।

कोठा कोठामा खोज्दै जाँदा मनाङे हैन मनाङेले प्रयोग गर्दै आएको पछिल्लो फोन भेटियो जुन फोन नम्बरकै आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो।

प्रहरी स्रोतका अनुसार मनाङे मोबाइल भएको घरमा बास बस्थेनन्, उनी अर्कै घरमा बस्थे तर मोबाइल भने त्यहाँ राख्थे।

उनले प्रहरीलाई झुक्याउनकै लागि यस्तो गरेको प्रहरीले जनाएको छ। लोकेसन हेरेर प्रहरीले ठाँउ पत्ता लगाएपछि आफू भने सुरक्षित रहने जुक्ति लगाएर मनाङे फोन एक घरमा राखेर आफू अर्कै घरमा बस्दै आएका थिए।