धरौटीमा छुट्लान त दिपक मनाङे ? - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

धरौटीमा छुट्लान त दिपक मनाङे ?



काठमाडौं– गुण्डा नाइके भनिने प्रदेशसभा सांसद  दिपक मनाङे उर्फ राजिव गुरुङले जेलबाटै पुनरावेदन गर्ने तयारी गरेका छन्।

ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाअनुरुप थुनामा पुगेका मनाङेले उक्त फैसलालाई चुनौति दिँदै सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेका हुन्।

मनाङेले आफुले उच्च अदालतको मुद्दाको म्याद नै नपाएको र एकपक्षीय रुपमा फैसला भएको जिकीर गरेका छन्। हाल उच्च अदालतमा दायर भएको मुद्दामा मनाङेको निवास भन्दै काठमाडौंको नयाँ बजारमा म्याद तामेली गर्दै फैसला सुनाइएको थियो।

पुनरावेदनको फैसलाविरुद्ध सरकार मनाङेको हकमा भने सर्वोच्चमा पुगेको थिएन। सर्वोच्चले अन्य प्रतिवादीहरु गणेश लामा लगायतलाई सफाइ दिने उच्च अदालतको फैसलालाई केही महिना पहिले सदर गरेको थियो। मनाङेको हकमा पुनरावेदन नभएपछि तत्कालीन पुनरावेदन अदालतको फैसला स्वतः सदर भएको थियो।

मनाङमा रहेको आफ्नो स्थायी ठेगानामा प्रहरीले कुनै जानकारी नदिएकोले आफूले उच्च अदालत तथा सर्वोच्चको फैसलाको बारेमा आधिकारिक जानकारी नपाएको दावीसाथ मनाङेले पुनरावेदन गर्ने तयारी थालेका हुन्। आफूसँगै प्रतिवादी बनाइएका अन्य अभियुक्तकहरुले सफाइ पाएकाले उक्त अभियोगमा आफूले पनि सफाइ पाउनुपर्ने दावी उनको छ। मुद्दा दर्ताका लागि मनाङेले आफ्ना कानुन व्यवसायीसँग अन्तिम छलफल समेत गरिसकेका छन्।

उनले अदालती बन्दोबस्तीको १९४ को सुविधाअनुसार धरौटी बुझाएर थुना बाहिर रही मुद्दाको पुनरावेदन माग गर्ने तयारी गरेका छन्। १० वर्षभन्दा कम सजाय हुने मुद्दामा धरौटीमा रिहा भइ पुनरावेदन गर्न पाइने फैसला हालै सर्वोच्चले गरेको छ। सोही फैसलामा टेकेर धरौटीमा रिहा भइ मुद्दा लड्ने मनसायमा मनाङे पुगेका हुन्। केही दिनमा मनाङेका तर्फबाट सर्वोच्चमा पुनरावेदन दर्ता गर्ने तयारी रहेकोे स्रोतले बतायो।

उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरे लगत्तै मनाङे भूमिगत भएका थिए। फरार रहेकै समयमा बैसाख ६ गते प्रहरीले उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियो। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन्।