लुक्दै हिँडेका डिमप्रकाशले गरे निगमका ५ सय कर्मचारीको जागिर खाइदिने प्रस्ताव - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

लुक्दै हिँडेका डिमप्रकाशले गरे निगमका ५ सय कर्मचारीको जागिर खाइदिने प्रस्ताव



काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थमन्त्रालयमा पाँच सय कर्मचारीलाई हटाउन प्रस्ताव गरेका छन् । उनले ओभर स्टाफका कारण निगम डुबेको भन्दै उनले अर्थमन्त्री जनार्दन शर्मासँग प्रस्ताव गरेको खुलेको छ ।

पछिल्लो समय निकै विवादमा तानिएका महाप्रबन्धक पौडेलले उनले आफ्नो कमजोरी लुकाउन निगमबाट पाँच सय जना कर्मचारी हटाउन प्रस्ताव गरेपछि उनी थप विवादमा तानिएका छन् ।

कर्मचारीले कार्यालयमा प्रवेश नै निषेध गरेपछि डेढ महिनादेखि भाग्दै हिँडेका पौडेलले आफ्ना कमजोरी ढाकछोप गर्नका लागि अर्थमन्त्रालयलाई प्रभावमा पार्ने कोसिस गरिरहेको एक कर्मचारीले बताए ।

पौडेलले निगमलाई कम्पनी मोडेलमा लगेर निगमको शेयर बेच्ने निर्णय गरेपछि निगमका कर्मचारीहरु डेढ महिनादेखि आन्दोलनरत छन् । आन्दोलनरत कर्मचारीलाई मानसिक दवाव दिन उनले अर्थमन्त्री शर्मा समक्ष निगमका कर्मचारी हटाउन प्रस्ताव गरेको खुलेको छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पौडेललाई महाप्रबन्धक पदमा नियुक्त गरे पनि उनले निगममा कुनै सुधारको काम गर्न नसकेको एक ति कर्मचारीको दाबी छ । उनी निगम व्यवस्थापन सुधारमा भन्दा कमिशनमै रनभुल्ल परेको चर्चा चल्ने गरेको छ ।

पौडेल नियुक्त भएपछि विदेशमा रहेका कर्मचारीहरुको सेवा, सुविधा कटौती गरेर आफ्नो तलब दोब्बर बनाएका थिए । अर्बौ घाटामा गएको निगम व्यवस्थापन सुधार गर्न भन्दै योगेशले नियुक्ति गरेका पौडेल कुनै पनि सुधारका काममा नजर नै लगाएनन् ।

निगमलाई कम्पनी मोडेलमा लैजाने विषयमा विस्तृत अध्ययन नै नगरी पर्यटनमन्त्री, निगमको अध्यक्ष खाली भएको बेला पारेर उनले हतार हतार सहसचिव बुद्धिसागर लामिछानेलाई नक्कली अध्यक्ष बनाएर निगमलाई कम्पनीमा लैजाने निर्णय बोर्डबाट पास गरेपछि यो विवाद उत्पन्न भएको हो ।