सांसद दिलेन्द्र बडुको आक्रोश: प्रधानमन्त्रीले नै सीमानामा नेपालीको विचल्ली बनाए - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

सांसद दिलेन्द्र बडुको आक्रोश: प्रधानमन्त्रीले नै सीमानामा नेपालीको विचल्ली बनाए



काठमाडौं- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सरकारको कारण सीमानाकामा नेपालीहरु अलपत्र भएको आरोप लगाएका छन्।

उनले नेपाल प्रवेशको सम्पूर्ण तयारीपछि पनि प्रधानमन्त्रीको ठाडो आदेशमा आफ्नै नागरिकलाई सीमापारी नै रोकेको भन्दै आलोचना समेत गरेका छन् ।

कांग्रेस सांसदसमेत रहेका बडुले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेख्दै सरकारको चेत नखुल्ने बताएका छन् ।

‘सरकारको कान, ध्यान र ज्ञान कहिले खुल्ने? भन्दै प्रश्नसमेत गरेका छन्।

‘हाम्रो अथक प्रयास पछि दार्चुला नाकामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई यही चैत १७ गते विहान १०:३० बजे व्यवस्थित अभिलेखसहित नेपाल प्रवेश गराई सुरक्षित तवरले आ-आफ्नो गा.पा./न.पा.हरुको क्वारेन्टाइनमा पठाउने गरी भई रहेको तयारीलाई “प्रमको आदेश” भन्दै यो सरकारले अचानक रोकी दिएका कारण भारततर्फ धार्चुलाको शिविरमा ठूलो संख्यामा बाध्यताबस एकैसाथ बस्नुपरेका कारण संक्रमणको जोखिम थप बढ्दै गएको छ,’ उनले भनेका छन्, ‘यसतर्फ सरकारको कान, ध्यान र ज्ञान समयमै खुलोस्।’

कैयौं दिनदेखि सीमा क्षेत्रमा सयौं नेपालीहरू अलपत्र परेका छन् तर, सरकारले भने कुनै चासो देखाएको छैन । कतिपय प्रदेश सरकारले उद्दार गर्ने निर्णय गर्दा पनि माथिको ठाडो आदेश भन्दै नाकमाइ रोकेर सास्ती दिने काम भैरहेको छ ।