कोरोना, मुस्लिम समुदाय, व्यक्ति र विवेक - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

कोरोना, मुस्लिम समुदाय, व्यक्ति र विवेक



डिकेन्द्र ढकाल, समाजशास्त्री

१८ एप्रिल २०२०को बीबीसी समाचारका अनुसार भारतको दिल्लीमा त्यहाँको स्थानीय प्रशासनले भनेको छ, “तब्लिगी जमातको कार्यक्रममा सहभागी भएर फर्किएका कैयौँ जमाती कोरोना भाइरसबाट सङ्क्रमित पाइएको छ र उनीहरूले अरूलाई सङ्क्रमण फैलाउलान् कि भन्ने डर भएको छ।” नेपालमा पनि केही अनलाइन अखबार र छापाले “तब्लिगी जमाती”का कारण नेपालमा कोभिड १९को महामारी फैलने खतरा बढेको र जमातीलाई पक्रनुपर्ने, नियन्त्रणमा राख्नु पर्ने वा भारतीय भएमा भारततिरै फिर्ता पठाउनु पर्ने लेखेका छन्। यसरी अहिले नेपाली समाजमा “नयाँ” शब्दले चर्चाको ठाउँ पाएका छन्। तब्लिगी जमात र जमाती

जमातको सदस्यलाई जमाती भन्दछन्। उर्दूमा जमात भन्नाले कुनै खास उद्देश्यका लागि जम्मा भएका व्यक्तिहरूको समुह बुझिन्छ। तब्लिगी जमात भनेको एउटा त्यस्तो समूह हो जसले आफूलाई केही दिनको लागि इस्लाम धर्मको सन्देश सिक्न र व्यवहारमा उतार्न आफूलाई पूर्णरुपमा समर्पित हुन प्रयास गर्दछ। यस समयमा उनीहरूले घर, व्यवसाय र आफन्तहरूसँग कुनै सम्बन्ध राख्दैनन्। तिनीहरूले आफ्नो गाउँ/सहरदेखि निश्चित समयको लागि जमातमा सम्मिलित हुन्छन्। केही व्यक्ति तीन दिनको लागि सामेल हुन्छन्, केही ४० दिनका लागि, केहि चार महिनाका लागि र कोही कोही बर्ष दिनभन्दा बढी समयका लागि घरबाट यात्रामा निस्कन्छन्। आफूले चाहेको अवधि समाप्त भएपछि मात्र तिनीहरू घर फर्कन्छन् र दैनिक काममा संलग्न हुन्छन्।

तब्लिगी जमातको स्थापना सन् १९२६ मा भारतको दिल्लीमा मौलाना मोहम्मद इलियासले गरेका हुन्। अहिले तब्लिगी जमात विश्वका करिब १५० देशमा स्थापित छन्। हरेक वर्ष तब्लिगी जमातका विभिन्न देशमा “इज्तिमा” हुन्छ। इज्तिमा भनेको जमाती भेला हो। भेलामा इस्लाम धर्मले सिकाएको जीवन जिउने कलाबारे छलफल र दिक्षा दिने काम हुन्छ। यस्ता भेला र सामुहिक यात्राहरु विश्वका अरु प्रमुख धर्ममा पनि पाइन्छन्। प्रत्येक वर्ष हिन्दुहरुको विशेष गरेर शिवजीमा आस्था राख्ने सम्प्रदायका कावरियाहरू साउन महिनामा करोडौंको संख्यामा दुर्गम ठाउँहरूबाट शिवका मन्दिर र काशीसम्म कावर यात्रा गर्दछन् ।

यो बर्ष नेपालमा “इज्तिमा” अर्थात् जमाती भेला फागुनको महिनामा सप्तरी जिल्लाको बोदेबर्साइनमा भएको थियो। यस भेलामा धेरै देशबाट तब्लिगी जमाती आएका थिए। यसै बेला संसारभरि नोभेल कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो । संयोगबस नेपालमा भारत वा नेपालका भेलामा सम्मिलित भएर नेपालकै मस्जिदमा बसेका वा भारतबाट आएका जमातीहरुमा कोभिड १९ रोग देखियो। यति हुनासाथ केहीले सामाजिक सन्जालमा मुसलमान समुदायले नै कोभिड १९ रोग नेपालमा भित्र्याएको कुरा लेखे। कतिपय अनलाइन अखबार, छापा र टेलिभिजनले समेत जमातीहरु मस्जिदमा लुकेर बसेको पाइएको समाचार बनाए। उदयपुरको एउटै मस्जिदमा बस्दै आएकामध्ये अधिकांशलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि यो तर्क गर्नेलाई पुग्न बल पनि पुग्यो। कतिपयले मुस्लिम समुदायले जानीजानी नोभेल कोरोना भाइरसको संक्रमण फैलाउन नियतबस काम गरेका छन् भन्नेसम्म हल्ला फैलाउन भ्याएका छन्। तर वास्तिकता फरक छ।

वास्तविकता के हो?

सर्वप्रथम त सबै मुस्लिमहरु तब्लिगी जमातमा समावेश भएका हुँदैनन्। हिन्दु धर्ममा केही कठोर र कट्टर सम्प्रदाय भएजस्तै मुस्लिम समाजमा पनि कुरानमा भनिएको अनुसार हुबहु जीवन जिउनु पर्ने विश्वास गर्ने एकथरी तब्लिगी जमातमा लाग्दछन् र यही कुरा मुस्लिम समाजमा प्रसार गर्न यात्रा गर्दछन्। यसमा सबै मुस्लिमलाई एउटै डालोमा हाल्नु नै अबुझको काम हो। अर्को कुरा धर्मको कुराको लागि कठोर यात्रा गरेर घर छाडेकाले यस्ता अधर्मका काम गर्ने गर्दैनन्।

भएको के हो भने यस बर्ष संयोगबस तब्लिगी जमातले विभिन्न मुलुकमा इज्तिमा गरिरहेका बेला र जमातीहरु यात्रा गरिरहेका बेला नोभेल कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो। नेपाल लगायत विभिन्न देशका सरकारले तत्काल लक्डाउन लागु गर्दा उनीहरु जहाँ थिए त्यहीँ अड्किएका हुन्। अरु सामान्य मानिस जबर्जस्ति सिमा पार गरेजस्तै यिनीहरु मध्ये केहीले त्यसै गरे। जमातीहरु मस्जिदमा बस्ने हुनाले उनीहरुको ‘निगरानी गर्दा’ यो समयमा उनीहरु मस्जिदमा भेटिएका हुन्। उदयपुरको मस्जिदमा भेटिएका संक्रमित जमातीहरुलाई तब्लिगी जमातकै बेला संक्रमण भएको वैज्ञानिक पुष्टि पनि भएको छैन। जमाती मध्येका कुनै एकजनाले समुदायमा भएको संक्रमणबाट अन्जानमै रोग समातेर जमाती समुहमा बस्दा जमातकै अरुमा सारेको पनि हुन सक्छ।

किन लाञ्छना लाग्यो मुस्लिम समुदायलाई ?

समाजमा व्यक्तिको विभिन्न परिचय हुन्छ। जस्तै, लिंगमा आधारित: पुरुष, महिला, न पुरुष न महिला। जातिमा आधारित: कथित उपल्लो, कथित तल्लो। राष्ट्रियता/नागरिकतामा आधारित: नेपाली, भारतीय, चिनियाँ। धनमा आधारित: सम्पन्न, विपन्न। धर्ममा आधारित: हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन आदि। शिक्षा/लेखपढमा आधारित: शिक्षित, अशिक्षित, साक्षर, निरक्षर। राजनीतिक आस्थामा आधारित: यो दलवाला, त्यो दलवाला, दल-अन्धभक्त, दलवाला-विवेकी, गैरदलवाला आदि। यी केही उदाहरण हुन्। आफ्नो परिचयवाला समुहको वहुमत भएको, शक्तिमा भएको वा बलियो भएको बेलामा यस्तो समुह वा यस समुहको सदस्यले निर्धो, अल्पमतमा परेको, कमजोर रहेको समुह वा समुहको सदस्यलाई हेप्न, दबाउन, नियन्त्रमा राख्न, सिध्याउन, तर्साउन, राजनीतिक स्वार्थ पूरा गर्न वा सामाजिक बहिष्करणमा पार्न सामाजिक लाञ्छनाको हतियार प्रयोग गगर्न सक्छ।

अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँहरुप्रति कलंक थोपार्न चीनले नोभेल कोरोना भाइरस जानीजानी फैलाएको आरोप लगाए। त्यस्तै भारतमा अतिवादी हिन्दुहरुले आफ्नै मुलुक भित्रैका मुस्लिम समुदायलाई मुस्लिमहरुले जबर्जस्ती नोभेल कोरोना भाइरस संक्रमण फैलाउने काम गरिरहेका लाञ्छना लगाएका छन्। अझ भारतमा स्थानीय प्रशासनको भनाइपछि र सोसल मिडियामा मुस्लिम विरोधी धेरै गलत सूचना र घृणा सन्देशहरू आएका छन्। भारतमा अतिवादीहरुबाट मुस्लिमहरुले डाक्टर, नर्सलाई संक्रमित थुकेको, मुस्लिम व्यापारीहरुले थुक लगाएर फलफूल र तरकारी बेचेको जस्ता भिडियो बनाएर घृणा र उत्तेजना फैलाउन प्रचार भएका छन्।

रुस, अरब, सिरिया आदि देशले यो नयाँ कोरोना भाइरसको उत्पत्तिका लागि अमेरिकालाई लाञ्छना लगाइरहेका छन्। र, सबैले यसो गर्दा ‘कन्स्पिरेसी थ्यौरी’को सहयोग लिएका छन् र एकले अर्कालाई कलंकित गर्न प्रयास गरेका छन्। विवेकीहरुलाई थाहै भएको कुरा हो; यो भद्दा र निकृष्ट राजनीति हो, असामाजिक कार्य हो। यस्ता आरोप लगाउने कसैसँग पनि वैज्ञानिक आधार वा प्रमाण छैन। अर्कातिर हाम्रो देश नेपालमा पनि कतिपय ठाउँमा विदेशबाट आउनेहरुले यो रोग भित्र्याएका भनेर उनीहरुलाई आरोप लगाइएको छ । कतिपय गाउँमा बाहिरबाट आउने गरिब मजदुरहरुलाई गाउँमा पस्न, बस्न निषेध गरिएको छ। कतिसम्म भने आरोपितहरुलाई कलंकित गराई सामाजिक बहिष्कार गरेर बेइज्जती भोग्न वाध्य पारिएको छ। यस्ता अमानवीय घृणित कार्यले लाञ्छितहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई समेत असर पार्दछ। यो सरासर मानवअधिकारको हनन हो। यस्ता कार्यलाई समयमै रोकिएन भने लाञ्छितहरु र उनको परिवारको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक अधिकार खोसिने छ।

व्यक्ति र सामाजिक लाञ्छनाको सम्वन्ध

सामाजिक लाञ्छना वा कलंकितीकरणको सिद्धान्त अनुसार कुनै व्यक्ति र लाञ्छनाको सम्वन्धलाई ३ वर्गमा बाँड्न सकिन्छ: १. लाञ्छित/कलंकित वर्ग: स्पष्ट छ, जो लाञ्छनाबाट पिडित छन्, उनीहरु लाञ्छित/कलंकित वर्गमा पर्दछन्। २. सामान्य/साधारण वर्ग: यो त्यो बर्ग हो जसलाई कुनै लाञ्छना लाग्दैन र बेहोर्न/भोग्न पर्दैन। ३. विवेकी वर्ग: विवेकी तिनै सामान्य/साधारण वर्गका व्यक्तिहरु नै हुन् जसलाई लाञ्छित/कलंकित बनाइएकाहरुले असल व्यक्ति भनेर चिनेका हुन्छन् र लाञ्छना नलगाउने व्यक्ति भनेर स्वीकारेका हुन्छन् । यी विवेकी अझै दुई प्रकारका हुन्छन्: सक्रिय विवेकी र निष्क्रिय विवेकी। सक्रिय विवेकीले लाञ्छना लागेकाको पक्षमा वकालत गर्दछन् भने निष्क्रिय विवेकीले कसैलाई लाञ्छना लगाउँदैनन् तर गलतलाई गलत नभनी चुपचाप बसेका हुन्छन्।

यसरी यस्ता लाञ्छना कुनै पनि खाले बलियो वर्गले अर्को निर्धो वर्गलाई निउँ पाउनासाथ लगाउन सक्छ। घरपरिवारमै धन र पितृसत्ताको बलमा पुरुषले महिला (श्रीमती, आमा, छोरी, बुहारी आदि ) लाई लाञ्छ्ना लगाउने गरेका अनेकौँ घटना देख्न सकिन्छ। तर अहिले यहाँ धर्ममा आधारित लाञ्छनाको विशेष चर्चा गरिनुको खास कारण छ। यति बेला संसारभरि नै हाललाई असाध्य ठानिएको रोगसँग लड्नु परेको बेलामा अर्को सामाजिक रोग फैलिने डर छ र यसबाट हामीले हाम्रो समाजलाई जोगाउनै पर्छ। कुनै देशलाई ध्वस्त पार्न त्यस देशलाई धर्ममा विभाजित गराएर घृणाको बिउ रोपे पुग्छ! हाम्रो समाज सहिष्णु समाज हो। नेपाल थलो प्राचिनकालदेखि नै धार्मिक सद्भाव र सहिष्णुताको अनुपम् केन्द्र हो। कुनै पनि बहानामा अस्थिरता चाहने उदण्ड, असामाजिक, उग्र र ह्रिंसक तत्वलाई धर्ममा आधारित द्वन्द फैलाउन दिनु हुँदैन।

हामी नेपालीका फरक फरक आस्था र धर्म भए पनि हामी शान्त रहेर सँगै बस्न चाहन्छौं भन्ने सत्य यति बेला हामीले अझ राम्ररी ख्याल गर्नुपर्छ । वाह्य स्वार्थले नगिजोलिएका र नथलिएका हाम्रा बस्ती, संस्कृति र परम्पराहरु अझै सहिष्णु छन्। हामी एक अर्कालाई स्वीकार्दै र हामी बीचको भिन्नतालाई कायम राख्दै एकसाथ बस्न सक्छौँ। बस्नुपर्छ।

यतिबेला विशेष गरेर समाजका अगुवा र राजनीतिक नेताहरुले ध्यान पु-याउनै पर्छ। समाजलाई सभ्य, विकसित र सहिष्णु बनाउन राजनीतिक र सामाजिक नेतृत्वमा विशाल छाती सहितको ‘उचाइ भएको व्यक्तित्व’ (Towering figure) हुनुपर्दछ जसका प्रत्येक क्रियाकलाप र गुण अरुको लागि अनुकरणीय होस्। ‘उचाइ भएको व्यक्तित्व’ भनेको मानवका अनुकरणीय गुणहरुलाई जोड्ने र उदाहरणीय बन्ने चरित्रको अवधारणा हो। आफूले अरुबाट आशा गरेको व्यवहार आफूले नै प्रदर्शन गरेर आफै उदाहरण बनेर देखाउनु, अरुको प्रयासलाई सकारात्मक रुपमा लिएर तारिफ गर्नु, छुद्र र उट्पट्यांङ बोली नबोलेमा घरमुलीदेखि देशमुली आआफ्नो घर, ठाउँ, समाजदेखि राज्य सम्ममा उचाइ भएको व्यक्तित्व बन्न सक्छ। संसारका कुनै पनि धर्म वा आस्थाको उही सन्देश छ; सबैलाई प्रेम गर, परोपकारी बन, शान्ति फैलाऊ।

त्यसैले हामी सबै विवेकी बनौँ। सक्रिय विवेकी। खराब कामलाई खराब भनौँ। लाञ्छना लगाउनु, कलंक थोपार्नु निकृष्ट काम हो। सबै धर्मका विवेकी जनले सबै धर्मका मूल सन्देशलाई स्वीकारेका छन्। विवेकले मानिसलाई महान बनाउँछ । मुस्लिम समुदायकी एउटी विवेकी व्यक्तिको चर्चा गरूँ । केही बर्षअघि तालिबानीहरूले मार्नका लागि हानेका गोलीबाट बचेकी एक विवेकी मुस्लिम बालिका मलाला युसाफजाईले संयुक्त राष्ट्र संघको साधारण सभालाई उनले आफ्नो सोह्रौं जन्म दिवसको उपलक्षमा गरेको सम्बोधनमा भन्दै थिइन्: “प्यारा दिदी तथा दाइहरू, म कसैको बिरुद्ध छैन। म यहाँ तालिवान वा अन्य कुनै आतंककारी समुहहरुको बिरुद्ध व्यक्तिगत बदलाको भावना पोख्न आएकी पनि होइन। मलाई गोली हानेका तालिबलाई समेत म घृणा गर्दिनँ। मेरो हातैमा बन्दुक भएको बेला ऊ मेरो अगाडि उभिएको भेटे पनि म ऊलाई गोली हान्दिनँ। मैले मोहम्मद, जिसस क्राइस्ट र भगवान बुद्धबाट सिकेको यही करुणा हो। मैले मार्टिन लूथर किंग नेल्सन मंडेला र मोहमद अली जिन्नाहबाट प्राप्त गरेको यही विरासत हो। मैले गान्धी, बाचा खान र मदर टेरेसाबाट सिकेको अहिंसाको दर्शन यही नै हो। र, मैले मेरा बाबामामूबाट सिकेको क्षमाशीलता हो यो। मेरो आत्माले पनि मलाई यही भन्छ: मलाला, तिमी मृदू बन र प्रत्येकलाई प्रेम गर…..!”

अहिले यस्तो महामारीको बेला हामीले स्वार्थी र कपटी “राजनीति” गर्ने, विद्वेश फैलाउने, अशान्ति फैलाउने जस्ता काम कुनै अर्थमा पनि क्षम्य र मानवीय हुँदैन। यस्तो बेला हामीले थप चनाखो बनेर सहिष्णुता, सहअस्थित्व र सद्भावलाई खलबलाउन दिनु हुँदैन। फेरि दोहो-याऊँ: यसका लागि हामी विवेकी बन्नु पर्दछ, अरुलाई विवेकी बन्न प्रेरणा दिनु पर्दछ र सकेसम्म सबैले सक्रिय विवेकीको भूमिका खेल्नु पर्दछ। हाम्रा वैदिक मन्त्रमा भनिए झैँ हामीले संसारमै शान्तिको मन्त्र सुनाउनु पर्दछ र व्यवहारमै उदाहरणीय बनेर देखाउनु पर्दछ। “ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,… ॐ शान्ति: शान्ति: शान्ति:।।” अर्थात् संसारमै शान्ति कायम होस् !