धुर्मुस सुन्तली नेकपाको एजेन्ट हुन की सामाजिक अभियनता ?

कर्ण अधिकारी मकाउ,चीन।
केही दिन अगाडी धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको घोषणा कार्यक्रममा सम्माननीय प्रम केपी शर्मा ओली र कमरेड प्रचण्डले ससम्मान प्रमुख र विशेष अतिथिको आसन ग्रहण गर्दै गरेको दृश्य देखि रहँदा मनमा सारै नै कौतुहलता जाग्न गयो तत् पश्चात् मनमा लागेको कुराहरूलाई ओकल्ने जमर्को गरेको छु।मैले यसरी लेखी रहँदा प्रम ओली ज्यूले अरिङ्गाल बनाउनु भएका नेकपाको कार्यकर्ताको गाली गलौज नआउला भन्न पनि सकिदैन्। लगभग ३ अरबको लगानीमा बन्न लागेको स्टेडियममा अधिकांश बिदेशीएका नेपाली नागरिकहरूले आफ्नो गाँस कटाएर पठाएको पैसाले बन्ने लक्षण देखिएको छ।
विगतमा पनि बिदेशीएका नेपालीहरूको पैसाबाट धुर्मुस सुन्तली फाउण्डेशनले मुसहर बस्ती र भूकम्प पीडितका लागि सामूहिक बस्ती बनाए।त्यही बिदेशीएकाहरूको पैसाले धुर्मुस सुन्तलीले वीर अस्पतालको भित्ता रङ्गाए,बिदेशीएकै जनताको पैसाले मिर्गौला पीडित देखि अन्य रोग लागेका नेपालीहरूलाई बचाउने कार्य भएको छ।नेपाली भाषी भएकै कारण अमेरिकामा रहेका भुटानीहरूले पनि सहयोग जुटाउँदै आएका छन्।त्यसै गरी रवि लामिछानेले पनि बिदेशीएका नेपालीको पैसाले बाढी पीडितका लागि सामूहिक बस्ती बनाए।अब यी दुवै पत्रकार र कलाकारले बिदेशीएका नेपालीहरूसँग समन्वय गर्दै कालिकोटको रास्कोटमा सामुदायिक अस्पताल र चितवन भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउनका लागि आबहान गरेसँगै रकम जुट्न थाली सकेको छ।
घोषणा कार्यक्रममा रहनु भएका कमरेड प्रचण्डको अनुहारमा हेर्दै लेख्ने कोसिस गरे १० बर्से जनयुद्धको अन्त्येसँगै लडाकु शिविरमा रहेका लडाकुहरूका लागि नेपाल सरकारले दिएको रकम मध्यको २० अरब भन्दा बढी रकम घोटाला भएको थियो भन्ने कुरा हामीले सुन्दै आएका छौ यदि यो कुरा सत्य साबित हो भने यो २० अरबबाट त नेपालमा झन्डै ७ वटा ठुला ठुला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बन्ने रहेछ।यसरी बिदेशीएका नेपाली जनताले दान गरेको रकमबाट बन्न लागेको स्टेडियमको घोषणा कार्यक्रममा बोल्दा लाज लाग्नु पर्ने होइन र ? कार्यक्रममा भरतपुरका मेयर रेणु दाहालको पनि भाषणको केही अंश सुनियो आखिर यिनी प्रचण्डको पुत्री त परिन नेपाली काँग्रेसको कार्यकर्तालाई घोडा चढेर विजय हासिल गरेका यिनी मन्तव्यमा कुर्लिँदै थिइन स्टेडियम बने पछि पहिलो खेल पाकिस्तान र इण्डिया बिच गराउने रे कारण यी दुई देश बिच सित युद्ध चलि रहेको छ रे।यिनीहरू धेरै टाढाको दुरीमा रहेको देश युएई र दुबईमा खेल खेल्न बाध्य छन् भन्छिन्।यिनलाई नेपाली खेलाडीको भन्दा पनि पाकिस्तान र भारतको चिन्ता रहेको प्रस्ट देखिन्छ।यो स्टेडियम भारत र पाकिस्तानका खेलाडीका लागि हो की नेपालका खेलाडीका लागि हो मेयर ज्यू ?
प्रम ओलीको पनि कुरा नगरौँ यिनको पनि काम भन्दा गफ ठुलो पानी जहाज देखि चुच्चे र मनो रेल नेपालका डाँडा काँडा कुद्न सुरु गरी सके झैँ गर्छन्।सुनेको छु पानी जहाजको लागि कार्यालय पनि खुलाउँदै छ न रे ! भएको एउटा सडक डिभिजन कार्यालयलाई त राम्रो तवरबाट सञ्चालन गर्न नसकेको अवस्थामा पानी जहाजको कार्यालय खोल्छु भन्नु लज्जास्पद कुरा हो । यिनी सरकारको बागडोर सम्हालेका प्रम हुन यिनलाई पनि लाज लाग्नु पर्ने हो नाना थरी गफ दिएर घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्न । शिक्षा,स्वास्थ्य,गाँस,बास र कपासको जिम्मेवारी सरकारले लिनु पर्ने हो की हास्यकलाकार धुर्मुस सुन्तलीले ? सरकारले गर्नु पर्ने काम कलाकार र पत्रकारले गर्ने भए आखिर सरकार के का लागि ?
धुर्मुस सुन्तली र रवि लामिछानेको कार्य प्रति सबै नेपाली नागरिकको साथ छ र भविष्यमा रहने पनि छ तर कतै कतै सामाजिक सञ्जालहरूमा धुर्मुस सुन्तली नेकपाको एजेन्ट हुन यिनीहरूलाई सहयोग गर्न सकिँदैन भन्दै विरोधका आवाज समेत उठान गरी रहेका छन् खैर धुर्मुस सुन्तली नेकपाकै एजेन्ट भए पनि यिनले थालनी गरेको कामलाई भने साथ र समर्थन गर्नु पर्दछ।जुन देशमा सरकार भन्दा व्यक्ति धनी हुन्छ भने यसको परिणाम यसरी नै निस्किन्छ।दक्षिण एसियामा नै भ्रष्ट्राचारमा ३ नम्बरमा परेको नेपाल सरकारसँग आर्थिक हैसियत केही छैन।मन्त्री देखि कर्मचारी प्राय सबै भ्रष्ट्राचारमा लिप्त छन् भने देश कसरी समृद्ध बन्न सक्छ ! अर्को कुरा वाईडबडी विमान खरिद प्रकरणमा ६ अरब घोटाला भएको कुरा प्रमाण सहितको प्रतिवेदन लेखा समितिलाई उप समितिले बुझाउँदा पनि कुनै कार्बाही हुन सकेन।यो घोटाला भएको रकमले पनि २ वटा क्रिकेट स्टेडियम बन्न सक्थ्यो।तसर्थ यस्ता भ्रष्ट्रचारीहरूका सामु बिदेशीएका नेपालीले योगदान दिनु पनि धिक्कार छ।
भ्रष्ट्रचारीलाई कानुनी प्रक्रियामा ल्याएर सजाए दिलाउने अख्तियारका कर्मचारी नै घुसिया छन् भने जनताले यिनीहरू माथि विश्वास गर्ने कुनै ठाउँ नै छैन।अख्तियारमा कार्यरत रहेका हरूको आफन्तको नाममा विगतमा रातारात पैसा जम्मा भएका घटना पनि सुनेकै हो।त्यसैले नेपालमा न त सरकारको विश्वास गर्न सकिन्छ न त कर्मचारीको नै । आफ्ना परिवारलाई सहज तवरबाट पालन पोषण गर्छु भन्दै बिदेशीएका नेपालीहरूले दान दिएर देश निर्माण हुने भए न त देशमा सरकार चाहिन्छ न त मन्त्री हरू नै।देश निर्माणका लागि त स्वच्छ मन भएका बिदेशीएका नेपालीहरू,धुर्मुस सुन्तली र रवि जस्तो व्यक्ति चाहिन्छ।

