क्यारिकेचर गर्दा कुटाइ खाए !
काठमाडौं: नेपाली सिने बजारमा कलाकारको भीड छ। त्यो भीडमा सीताराम कट्टेल उर्फ ‘धुर्मुस’ले अलग परिचय बनाएका छन्।
अभिनयका साथै सामाजिक अभियन्ताको रूपमा उनको अर्को परिचय बनेको छ। भूकम्पपछि सामूहिक बस्ती निर्माण र नमुना नेपाल बनाउन लागिपरेपछि धुर्मुस–सुन्तलीको जोडी अझै चर्चामा आयो।
नयाँ फिल्म निर्माण गर्न स्क्रिप्ट लेखनमा व्यस्त रहेका धुर्मुस चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन पनि दौडधुप गर्दैछन्।
टेलिसिरियल ‘मेरी बास्सै’ बाट उदाएका यी कलाकार प्रतिभाशाली कमेडियन हुन्। त्यसमाथि उनको क्यारिकेचर गर्ने क्षमता गज्जब छ। मेरी बास्सै टीभी सिरियलमा मात्र उनले ४४ पात्रको क्यारिकेचर गरेका छन्।
धुर्मुस, मुस्कान पासा जस्ता कल्पित पात्रमा उनले गरेको क्यारिकेचर निकै मन पराइयो। अहिलेसम्म पनि सीताराम जुनसुकै सार्वजनिक कार्यक्रममा हँसाउन उभिँदा धुर्मुसकै रूपमा प्रस्तुत हुन्छन्। एकताका धुर्मुसको ‘म त मर्छु कि क्या हो’ संवाद धेरैको जिब्रोमा बसेको थियो।
विभिन्न जातजातिको भेषभूषा र बोलीचाली पनि उनले क्यारिकेचरमार्फत प्रस्तुत गर्ने गरेका छन्। तर, जातीय प्रस्तुतिमा कुनै समुदायलाई ठेस नपुगोस् भनेर उनी सधैं सचेत रहन्छन्। सीताराम भन्छन्, ‘कम्तीमा ७०–८० वटा क्यारिकेचर गर्ने योजना थियो तर सामाजिक कार्यमा लाग्दा त्यो पूरा हुन सकेन।’
नेपालका थुप्रै नेताको हुबहु क्यारिकेचर गर्न सक्छन् उनी। उनले गरेको प्रधानमन्त्री केपी ओलीको क्यारिकेचर धेरैले मन पराउँछन्। पछिल्लो समय ‘प्रज्ञा सिस्नुपानी देउसी २०७५’ मा उनले प्रधानमन्त्री ओलीको पुनः क्यारिकेचर गरे।
त्यसमा शेरबहादुर देउवा, प्रचण्ड र प्रधानमन्त्री तास खेल्दै गरेको व्यंग्यात्मक दृश्य छ। माओवादी र एमाले पार्टी एकीकरणपछि देखिएको राजनीतिक परिवेशलाई उक्त हास्यव्यंग्यमा देखाइएको थियो।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र एमाले पार्टी सरकारबाहिर रहेको अवस्थामा पनि केपी ओलीको क्यारिकेचर गरेका थिए। ‘म केपी ओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता नेताको क्यारिकेचर राम्रोसँग गर्न सक्छु’, उनी भन्छन्।
कमेडियन सीताराम थुप्रै नेपाली कलाकारको क्यारिकेचर पनि सजिलै गर्छन्। पछिल्लोपटक हरिवंश आचार्यको जन्मदिनमा उनकै क्यारिकेचर गरेर सबैलाई हँसाएका थिए।
विद्यार्थी जीवनबाटै सुरु भएको उनको क्यारिकेचर यात्रा आजसम्म आउँदा झन् झाँगिएको छ। पहिलोपटक स्कुलमा भएको एक नाटकमा उनले क्यारिकेचर गरेका थिए। भन्छन्, ‘स्कुल पढ्दा १६÷१७ जनामध्ये सातआठजना शिक्षकको त म हुबहु क्यारिकेचर गर्थें।’ कुनै पनि व्यक्तिको लवाइखवाइको जस्ताको तस्तै क्यारिकेचर गर्न थालेपछि साथीहरू पनि उनीसँग बोल्न डराउँथे रे।
यति बेला परिस्थितिले उनलाई सामाजिक अभियन्ता बनाएको छ। २०७२ सालको भूकम्पपछि सीताराम सामाजिक कार्यमा नै व्यस्त छन्। तर, क्यारिकेचर गर्न छाडेका छैनन्।
आफ्नो वचपनका दिनहरू सम्झँदै उनी भन्छन्, ‘क्यारिकेचर नै गरेर मैले सानोमा कुटाइ खाएको छु।’ स्कुल पढ्दा एक शिक्षकले उनलाई कुटेका रहेछन्।
विद्यालयका अन्य शिक्षक र विद्यार्थीका सामु तिनै शिक्षकको क्यारिकेचर गरेका थिए उनले। फलस्वरूप विद्यालयबाट घर फर्किने बेला उनको रामधुलाइ भयो। यद्यपी सीताराम भन्छन्, ‘त्यो कुटाइ मेरा लागि ठूलो प्रेरणा भयो। कुट्ने सर अहिले मलाई स्याबासी दिन्छन्।’ अन्नपूर्ण पोस्टबाट