ढुंगेल फेरी पक्राउ पर्ने ?
गणतन्त्र दिवसका दिन मंगलबार विहान रिहा भएका पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलले आफू तेस्रो चौंथो पटकपनि पक्राउ पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आफ्नो अभिनन्दन गरिएपछि सम्बोधन गर्दै ढुङ्गेलले चौंथो पटकपनि पक्राउ पर्न सक्ने बताएका हुन् ।
‘बालकृष्ण ढुङ्गेल अहिले भर्खरमात्र सरकारले रिहा गरेर पठाएपछि तपाईंहरुको साथमा यहाँ आइपुगेको हो, उ तेस्रो पटक रिहा भएको छ’ लयात्मक भावमा सम्बोधन गर्दै ढुङ्गेलले भने, ‘ढुङ्गेल रिहा भएको यो पहिलो पटक पनि होइन र अन्तिम पटक पनि होइन, उ फेरि पक्राउ पर्न सक्छ ।’
‘गणतन्त्र आएपछि तेस्रो पटक जेल जानुपर्छ भन्ने मलाई लागेको थिएन, तर गणतन्त्रका लागि लड्दा भन्दा हिटरमा पिसाव फेराएर मेरो किड्नी ड्यामेज गर्नेहरु, संकटकाल लगाउने र टाउकाको मूल्य तोक्नेहरु नै प्रधानमन्त्री बनेु, ढुङ्गेलले भने, ‘नागार्जुनको जंगलमा लगेर योद्धा बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बनेपछि बालकृष्ण ढुङ्गेलहरु जेल जानुको बिकल्प थिएन ।’
ढुङ्गेलले आफ्ना लागि न्यायालयको बेञ्चबाट न्याय बलात्कृत भएको दावी गरे, आफ्नो भागमा परेको गणतन्त्र पनि अपरहणमा परेको उनको कथन थियो । यति भन्दै उनले आफ्नो रिहाई विरुद्ध सर्वोच्च अदालत गुहारेका मानवअधिकारकर्मी र कानून व्यवसायीहरुप्रति आक्रोस व्यक्त गरे ।
उनले आफूमाथि लागेको हत्याको आरोपको प्रतिवाद पनि गरे । किड्नी रोगबाट पीडित ढुङ्गेलले भने, ‘संसारमा किड्नी जाँच्ने मेसिन आएको रहेछ, झुठ र पाप जाँच्ने मेसिन आएछ भने म जाँच्न तयार छु ।’
मन्तव्यको अन्त्य गर्दै ढुङ्गेलले भने, ‘शहीदरुको रगत बेचेर खान नपरोस्, शहीद परिवारहरुको मझेरीमा गएर उहाँहरुको भागमा लात हान्दै खानु नपरोस् जबसम्म जीवित रहन्छु, कसैलाई ठगेर भनेर स्पिपिङ्ग ट्याब्लेड सुत्नु नपरोस् ।’