यसरी लोप हुँदैछन ऐतिहासिक ढुङ्गेधारा: कसले गर्ला संरक्षण ? - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

यसरी लोप हुँदैछन ऐतिहासिक ढुङ्गेधारा: कसले गर्ला संरक्षण ?



काठमाडौं । स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुङ्गेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।

केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुङ्गेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुङ्गेधाराको संरचना पत्ता लाग्यो ।

तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ ।

यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुङ्गेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुङ्गेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् ।

स्थानीयले प्रयोग गर्दै आएका ढुङ्गेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुङ्गेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् ।

उपत्यकाका अधिकांश धारा बेवारिसे भएका छन् । ढुङ्गेधारा संरक्षणमा लामो समयदेखि लागिपरेका अभियन्ता यादवलाल कायस्थ उपत्यकामा बढ्दो अव्यवस्थित र सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएको बताउँछन् । उनले धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको बताए । कपुरधाराका ढुङ्गेधाराहरू अहिले प्रायः सबै सुकिसकेका छन् ।

‘धारामा सफा पानी आउँथ्यो, ढुङ्गेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले एकादेशको कथा भएको छ,’ कपुरधाराका स्थानीय राजेश महर्जनले भने ।

‘पानीको स्रोत स्ांरक्षण र धारामा पानी आउने अवस्था कसरी ल्याउने भन्दा पनि पुरेर भवन र कम्प्लेक्स निर्माण हुन थाले,’ कायस्थ भन्छन् । उनी सडक विस्तारलगायत विकासका नाममा विनाश निम्तिएको भन्दै चिन्ता व्यक्त गर्छन् ।

अर्का संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ संरक्षणसम्बन्धी ज्ञान नहुँदा र सम्बन्धित निकायले संरक्षणमा आवश्यक ध्यान दिन नसक्दा यस्तो समस्या आएको बताउँछन् ।

त्यसो त संरक्षणको जिम्मा पाएको पुरातत्व विभागले ढुङ्गेधाराको संरक्षणमा आवश्यक पहल गर्न सकेको देखिँदैन ।

विभागले उपत्यकाका धाराका सम्बन्धमा तथ्यांक नरहेको बताँउदै आएको छ । प्रदेशसभा सांसद भीमसेनदास प्रधान सहरी विकास र व्यवस्थापनमा दीर्घकालीन योजना बन्न नसक्दा र खुला स्थान मासिँदा भूमिगत पानीको स्रोत गुम्दा यस्तो समस्या आएको बताउँछन् ।