धुलिखेलमा निधन भएकी महिलाको उपचारमा संलग्न सबैकोलाई आइसोलेसनमा लगियो - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

धुलिखेलमा निधन भएकी महिलाको उपचारमा संलग्न सबैकोलाई आइसोलेसनमा लगियो



काठमाडौँ– काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलाको उपचारमा संलग्न डाक्टर तथा स्वाथ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ।

मृत्यु भएकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। उनलाई कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै राखिएको प्रहरी तथा अस्पतालका अधिकारीले बताएका छन्।

धुलिखेल अस्पतालमा बिहीबार राति निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नआइसकेको अस्पतालले जानकारी दिएको छ।

‘उहाँको बिहीबार साँझ निधन भएको हो, उहाँको कोरोना परीक्षणको रिपोर्ट मन्त्रालय पुगेको छ, उसैले सार्वजनिक गर्छ,’ धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

सिन्धुपाल्चोक बाह्रबिसे ९ राम्चेकी ३० वर्षीया एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो। लामिछानेले ती महिलाको स्वाब परीक्षण गरिएको र रिपोर्ट आइनसकेको जानकारी दिए।

कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएको महिलाको निधन भएकाले अहिले धुलिखेल अस्पतालमा सजगता अपनाइएको पनि डा. ताम्राकारले बताए।