धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं- धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।
लामो समयदेखि स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या भएका वृद्धको मंगलबार राति साढे १२ बजे धुलिखेलमा मृत्यु भएको बताइएको छ ।
नगरपालिका-६ का रामचन्द्र भिनाजू श्रेष्ठको मृत्यु भएको हो। प्लाज्मा थेरापी उपचारबाट वृद्धलाई बचाउन आफन्त लागिपरे पनि समयमै रगत नपाइएका कारण बुवालाई गुमाउनु परेको बताइएको छ ।
मृतक श्रेष्ठलाई नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोना संक्रमणको लक्षण देखिएको थियो। धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालको आइसियूमा राखिएको थियो।
श्रेष्ठ साउन २६ गते धुलिखेल अस्पताल भर्ना भएका थिए। वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर थियो। रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो।
वृद्धलाई ए पोजेटिभ रगत चाहिएको थियो। प्लाज्मा थेरापीका लागि जुन रक्त समूहको बिरामी हो, त्यससँग मिल्ने समूहको पनि निको भइसकेको संक्रमितको रगत चाहिन्छ।
वृद्ध बानेश्वरको घरमै बस्थे। बाहिर नजाने गरेका उनीसँग छोराबुहारी रेखदेख र सम्पर्कमा थिए। ती दुवै जनाको पिसिआर पोजेटिभ देखिएको छ।
दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्। यी वृद्धको परिवारमा १२ जना छन्। तीमध्ये दुई जना संक्रमित देखिएका छन्। ९ जनाको पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइसकेको छैन।