धोनीको सम्मानमा सात नम्बर जर्सीको पनि संन्यास - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

धोनीको सम्मानमा सात नम्बर जर्सीको पनि संन्यास



एजेन्सी- जब महेन्द्रसिंह धोनीले सन् २०११ को विश्वकप क्रिकेटको फाइनलमा छक्का प्रहार गर्दै भारतलाई च्याम्पियन बनाए, त्यो विश्व क्रिकेटकै प्रतिष्ठित क्षण बनेको थियो।

रेलवेको टिकट कलेक्टरका रूपमा काम गर्दै विश्व क्रिकेटका महान् खेलाडी बनेका धोनीले भारतलाई दुई विश्वकप उपाधि दिलाएका थिए। ठूला सट र बिना दबाबमा खेल्ने धोनीलाई ‘क्याप्टन कुल’ उपमा पनि दिइएको थियो र उनै धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान पनि थिए। जोहानेसबर्गमा सम्पन्न ट्वान्टी–२० पहिलो विश्वकप र भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा भएको विश्वकप फाइनलमा छक्का प्रहार गर्दै उपाधि दिलाउनु धोनीको खेलजीवनमा यागदार क्षण मानिन्छ। सन् २००७ मा भारतीय क्रिकेटको कप्तान नियुक्त गरेपछि कयौंले उनलाई रनको सञ्चयकर्ताका रूपमा सम्झिने गर्छन्, तर त्यो उनको खेलशैली नै थियो।

भारतको पूर्वी सहर राँचीबाट उदाउँदा र पश्चिम बंगालस्थित खारगपुरको रेलवेमा टिकट कलेक्टरका रूपमा काम गर्दासमेत उनले धेरै दुःख भोगेका थिए, जुन उनको जीवन बलिउडको बाइयोपिकसम्म लम्बिन पुगेको थियो। त्यही संघर्षबाट उठेर उनी विश्व खेलकुदकै धनी खेलाडीका रूपमा परिचित हुँदा फोब्र्सको धनी खेलाडीको सूचीमा उनी र सचिन तेन्दुलकरको प्रतिस्पर्धासमेत रह्यो। सन् २०१५ मात्र उनको कमाइ करिब ३१ मिलियन डलरको हाराहारीमा पुगेको थियो। त्यो जीवनशैलीलाई निरन्तरता दिन उनले मैदानमा पनि सोही किसिमका मेहनेत गरे।

शनिबार धोनी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि चेन्नई सुपर किङ्सको मालिकसमेत रहेका उद्योगी एन श्रीनिवासनले सर्वोच्च सरल खेलाडीको रूपमा याद गरेका छन्। उनले आफ्नै शैलीमा विश्वकप दिलाएसँगै भारतमा क्रिकेटको लोकप्रियता बढ्न थप मद्दत पुगेको थियो। पछिल्ला समय निराश मात्र बनिरहेका भारतीय क्रिकेटका समर्थकका लागि अब धोनी नीलो जर्सीमा खेल्छन् या खेल्दैनन् भन्ने अनुमान लगाउनै कठिन थियो। उनले सन् २०१४ मै टेस्ट क्रिकेटबाट बिदा लिइसकेका थिए भने गत वर्षको विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँगको हारपश्चात् उनी राष्ट्रिय टोलीमा देखिएका थिएनन्।

तर, मध्यक्रमका उत्कृष्ट फिनिसर, ग्लोभ्ससँग राम्रो सहकार्य गर्ने विकेटकिपर र खेलको अवस्थालाई राम्रोसँग विश्लेषण गर्न सक्ने खेलाडी धोनीले पूर्णरूपमा विराट कोहलीलाई जिम्मवारी सुम्पिने निर्णय गरे। धोनीले सन् २०१७ मै छोटो फरम्याटको क्रिकेटमा पनि भारतीय टोलीको कप्तान छाडिसकेका थिए, तथापि भारतको हरेक खेलमा निर्णय लिँदा उनको भूमिका रहने गर्दथ्यो। कोहली पनि धोनीसँग सल्लाह लिन लाज मान्दैनथे। भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले पनि धोनी टोलीमा हुनुलाई ‘विशाल’ र कोहलीसँगको सञ्चारलाई ‘सानदार’ रूपमा व्याख्या गरेका छन्।

सन् २००८ मा अनिल कुम्बलेले टेस्ट क्रिकेटबाट संन्यास लिएपछि धोनीलाई त्यसको कप्तान बनाइएको थियो। सन् २००५ देखि ०१४ सम्मको ९ वर्षे टेस्ट करियरमा उनले हजार आठ सय ७६ रन बटुल्दा ६ शतक र ३३ अर्धशतक बनाएका थिए। त्यसबीच उनले टेस्टमा ६० खेलबाट २७ जित दर्ता गर्दै भारतका सबैभन्दा सफल कप्तानका रूपमा आफूलाई उभ्याए। विश्वको सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट आइपिएलमा पनि उनी सफल कप्तान बने। उनकै नेतृत्वमा चेन्नई सुपर किङ्स तीन पटक आइपिएलको उपाधि विजेता र आठ पटक उपविजेता बन्न सफल भयो।

सात नम्बर जर्सीको संन्यास माग

भारतीय क्रिकेटर र समर्थकले आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) समक्ष धोनीले लगाउने जर्सी नम्बर सातको पनि संन्यास गराउन माग गरेका छन्।

दुई पटक विश्वकप विजेता कप्तान धोनीको सम्मानका लागि भारतीय क्रिकेटर र समर्थकल उनले लगाउने जर्सी नम्बर सातलाई पनि संन्यास दिन बिसिसिआई समक्ष माग गरेका छन्। ३९ वर्षे धोनीले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई शनिबार सामाजिक सञ्जालमार्पmत अन्त्य घोषणा गरेका थिए। त्यस क्रममा उनले ‘आज साँझ ७ः२९ बाट मैले रिटायर्ड लिएको बुझे हुन्छ’ भनेका थिए, जसको बिसिसिआईले पनि पुष्टि गरिसकेको छ। ‘राँचीबाट आएका एक केटो, जसले सन् २००४ मा एकदिवसीय क्रिकेटबाट डब्यु गरेका थिए, शान्त र चतुर नेतृत्वबाट भारतीय क्रिकेटको रूपसमेत बदले,’ धोनीको संन्यास पुष्टि गर्दै बिसिसिआईले भनेको छ।

भारतीय क्रिकेटकै पूर्वसहकर्मी दिनेश कार्तिकले राष्ट्रिय टोलीको सात नम्बर जर्सीमा धोनीबाहेक अन्यलाई देख्न नचाहेको बताएका छन्। ‘मलाई विश्वास छ बिसिसिआईले सात नम्बर जर्सीलाई पनि रिटायर दिनेछ। दोस्रो इनिङका लागि धोनीलाई शुभकामना छ,’ विकेटकिपर ब्याट्सम्यान कार्तिकले ट्विट गरेका छन्। भारतीय पूर्वक्रिकेटर मोहम्मद कैफले पनि धोनीबाहेक अन्यमा राष्ट्रिय टोलीको जर्सी नम्बर सात देख्न नसकिने भन्दै सहमति जनाएका छन्। क्रिकेटमा जर्सीको रिटायरको प्रचलन नभए पनि बिसिसिआईले सचिन तेन्दुलकरको जर्सी नम्बर १० लाई रिटायर दिएको थियो।

सचिनले संन्यास लिएको केही वर्षपछि अनौपचारिक रूपमा त्यो जर्सीको रिटायर गरिएको थियो। ‘बिसिसिआईले जर्सी नम्बर सात रिटायर गर्दै धोनीको योगदानप्रति सम्मान दिनुपर्छ,’ समर्थकले ट्विटरमा उल्लेख गरेका छन्। समर्थकले ह्याजट्याग गर्दै ‘रिटायर जर्सी सेभेन’ को ट्रेन्डिङ सुरु गरेका छन्।