आज ताहिर र धोनीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुँदै - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आज ताहिर र धोनीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुँदै



एजेन्सी । प्रत्येक चार वर्षमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपले नयाँ स्टारको उदय र पुराना खेलाडीलाई बिदा गर्छ । इङ्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकपपछि केही चर्चित खेलाडीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछन् ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिरको यो अन्तिम विश्वकप हो भने भारतका महेन्द्रसिंह धोनीको पनि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान क्रिकेट पण्डितहरुको छ ।

१२ औं संस्करणको विश्वकपमा ताहिर र धोनी फरक भूमिकामा हुनसक्ने क्रिकेट विश्लेषकको अनुमान छ । विश्वकप यादगार बनाउने लक्ष्यमा रहेका यी दुई भेट्रान खेलाडी ताहिर र धोनी आज आमनेसामने हुँदैछन् ।

ताहिरले विश्वकपको आफ्नो तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दा धोनीका लागि पहिलो खेल हो । किनकी भारत विश्वकपको पहिलो खेल खेल्न लागेको हो । आईपीएलमा एकै टोलीबाट खेलेका अनुभवी खेलाडी ताहिर र धोनीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । दुईको उत्कृष्ट प्रदर्शनमा आईपीइल टोली चेन्नई फाइनलमा मुम्बई इन्डियन्ससँग झिनो अन्तरले पराजित भएको थियो ।

आईपीएलका ‘टिममेट’ले आज भने आ–आफ्नो देशका प्रतिनिधित्व गर्नेछन् । ताहिरले विश्वकपमा कीर्तिमान बनाइसकेका छन् । उनले उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डविरुद्ध पहिलो ओभरमा बलिङ गर्दै विश्वकपको इतिहासमा पहिलो ओभर बलिङ गर्ने स्पिनरको कीर्तिमान आफनो नाममा लेखाएका छन् । धोनी सुखद् लक्ष्यका साथ टोली विजयी बनाउने लक्ष्यमा छन् ।

एकदिवसीय क्रिकेटमा ताहिर भन्दा धोनीले धेरै खेलमा सहभागिता जनाएका छन् । ३ सय ४१ खेलमा धोनीले १० हजार पाँच सय बढी रन बनाएका छन् । स्पिनर ताहिरले भने १ सय एकदिवसीय खेलमा १ सय ६६ विकेट लिएका छन् ।