इंग्ल्यान्डविरुद्धको खेलमा धोनी र रोहित शर्माले बनाए नयाँ किर्तीमान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इंग्ल्यान्डविरुद्धको खेलमा धोनी र रोहित शर्माले बनाए नयाँ किर्तीमान



भारतले इंग्ल्याण्डविरूद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज जितेको छ । जितसँगै भारतीय खेलाडीले विभिन्न किर्तीमान पनि बनाएका छन् ।

घरेलु टोली इंग्ल्यान्डविरुद्ध आइतबारराति भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटले हराउँदै भारतले सिरिज जितेको हो । ब्रिस्टोलमा इंग्ल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

भारतले ३ खेलको सिरिजमा २–१ ले आफ्नो बनाएको हो । यसअघि भारतले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इंग्ल्यान्डले ५ विकेटले जितेको थियो ।

धोनी र शर्माको नयाँ किर्तीमान
भारतले लगातार आठौ टी–२० सिरीज जितेको छ । भारतले पहिलो पटक इंग्ल्याण्डविरुद्ध उसकै घरेलु मैदानमा टी–२० सिरीज जितेको हो ।

पूर्व कप्तान महेन्द्रसिंह धोनी टी–२० मा ५० क्याच गर्ने पहिलो विकेटकीपर बन्न सफल भए । यस्तै, उनी एकै खेलमा ५ क्याच गर्ने पहिलो विकेटरकीपरको किर्तीमान पनि बनाउन सफल रहे ।

यस्तै रोहित शर्माले गय राती भएको खेलमा शतक प्रहार गरेसँगै टी–२० मा आफ्नो २ हजार रन पूरा गरेका छन् । उनी दुई हजार रन बनाउने चौथो खेलाडी हुन् । भारतमा विराट कोहलीपछि शर्मा टी–२० मा २ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

यस्तै, खेलमा रोहितले म्यान अफ दि म्याच र म्यान अफ दि सिरीजको अवार्ड पाउन सफल भए ।